७२ घन्टाको म्याद पाएका गुरुङले पाए नयाँ जीवन
काठमाडौँ, ९ साउन ।
‘अफगानिस्तानमा तीन ठाउँमा औषधि गरियो,’ सातवर्ष अफगानिस्तानमा रगत पसिना बगाएर बिरामी परेपछि ७२ घण्टा भन्दा बढी बाँच्दैन भनेर एयर एम्बुलेन्समा नेपाल पठाइएका खड्गसिंह गुरुङले भने, ‘अपरेशन पनि गरियो र पाकिस्तान, युरोपका डाक्टरले हेरेर ७२ घण्टा भन्दा बढी बाँच्न नसक्ने भन्दै एयर एम्बुलेन्समा राखेर नेपाल पठाइए पनि धापासीको ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालमा उपचार भएर यति बोल्न सक्ने भएको छु ।’
३११ नम्बर बेडमा रहेका गुरुङले सुनाए, ‘आन्द्रा पुरै कुहिएको भनेर नेपाल पठाइएको थियो र यहाँ डाक्टर राकेशकुमार शाहले एकपटक प्रयास गर्छु भनेर उपचार गर्दा अहिले निको हुँदै गएको छु ।’ विमानस्थलको घटना सम्झँदै गुरुङ भन्छन्, ‘अरुले बोलेको सुन्थेँ । तर दोहोरो सम्वाद गर्न सक्दिनथिएँ, ग्रान्डीमा पत्नी धनमायालगायत परिवारका सदस्य रुवाबासी गर्दैथिए ।’
अफगानिस्तानको सेल्ड स्युरिटी क्याम्प ग्रिनभिलेजमा कर्यरत गुरुङ अहिले निको भएका छन् । लमजुडका अफगानिस्तानस्थित कम्पनीमा काम गरिरहेका थिए । वर्षदिनमा घर आउने जाने गर्थे । कमाइ ठीकै थियो । एकदिन अचानक पेट दुखेपछि अनेक उपचार गर्दा आन्द्रा कुहिएको र ७२ घन्टाभन्दा बाँच्दैन भनेर नेपालमा पठाइएका पात्र हुन् गुरुङ ।
‘परिवारमा सल्लाह गरेर डा. शाहले भनेअनुसार नै मान्यौँ,’ भने, ‘डाक्टर राकेश भगवानकै रुप लिएर आएजस्तो हुनुभयो ।’ ग्रान्डीमा दुई र अफगानिस्तानमा एउटा अपरेसन गरिएका गुरुङ मज्जाले हाँस्छन्, बोल्छन् । भन्छन्, ‘नेपालका अस्पतालमा पनि सक्षम डाक्टर हुनुहुँदोरहेछ । अब उपचारका लागि भारतलगायतका देशमा जान नपर्ने भएछ ।’ पत्नी धनमाया भन्छिन्, ‘डाक्टरसाब दिनमा पटकपटक आउनु हुन्छ । के कस्तो छ भनेर सोधिराख्नु हुन्छ । नर्स बहिनीले पनि राम्रो हेरचाह गर्नुभएको छ । यसको गुण हामी कहिले भुल्ने छैनौँ ।’
‘७२ घण्टामात्र बाँच्छ भनेको बिरामीलाई बचाउनु भएछ नि,’ नेप्लिज डट ओआरजीको जिज्ञाजा थियो, ‘यस्तो जोखिम मोलेर उपचार सम्भव भएछ ।’ डा. शाहले भने, ‘उनको पहिला भएको अपरेसनमा गडबडी छ जस्तो लाग्यो ।’ थपे, ‘एउटा सर्जन भएका नाताले हरसम्भव प्रयास गरेँ र उपचार सफल भएको हो ।’ उनले अफगानिस्तानमा भएको उपचार र त्यसको रिपोर्टमा चित्त नबुझेको र परिवारसँग अनुमति मागेर प्रयास गर्दा उपचार सफल भएको सुनाए ।
‘मेरो कामलाई विश्वाश गर्नुभयो । म सफल भइनँ भने नानाथरी आरोप पनि लाग्न सक्थ्यो,’ डाक्टर शाहले सुनाए, ‘उनको जीवन भन्दा मेरो इज्जत ठूलो थिएन र एउटा डाक्टर र बिरामीको जस्तो सम्बन्ध अरुको हुँदैन पनि ।’ जनकपुरका डाक्टर शाह ग्रान्डीमा छ महिनादेखि आवद्ध छन् । ७२ घण्टा बाँच्छ भनेका गुरुङलाई बचाएर उनी अहिले चर्चामा छन् । नेपालमा पनि गुणस्तरीय उपचार हुन्छ भन्ने सन्देश ग्रान्डी र डाक्टर शाहले दिएका छन् ।
– वर्षा शाह

भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.