आफ्नो छोरा सञ्चो बनाउन छिमेकीको यी बालकको बली
श्रावण ९ - कुडिया गाविसमा एकजना बालकको बली दिइएको खुलेको छ ।
प्रहरीले बली दिएको अभियोगमा पक्राउ गरेकाले बली दिएको स्वीकार गरेका छन् । एकजना झाँक्रीको उक्साहटमा कुडिया–४ का १० वर्षीय सोनु भन्ने जीवन कोहारको घाँटी रेटी बली चढाइएको हो ।


प्रहरीले झाँक्रीसहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबारदेखि वेपत्ता भएका सोनुको शव शुक्रबार गाउँ बाहिर दुर्गा मन्दिर नजिकैको झाडीमा भेटिएपछि गाउँलेहरुले बली चढाइएको आशंका गरेका थिए । प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले आरोपीले बालकको बली चढाएको स्वीकारेको बताए । उनीहरुमाथि कर्तव्य ज्यानको मुद्दा चलाइने उपाध्यायले बताए ।

पक्राउ पर्नेमा झाँक्री(सोखा)गंगा हरिजन र  बली दिइने परिवारका कोदइ हरिजन, रुदल हरिजन, सूर्यभान हरिजन र बिरामी भएर बली मागेका १८ वर्षीय विजय हरिजन छन् । छोरालाई भूत सवार भई मान्छेको बली माग गर्न थालेपछि आफूले सोनुको घाँटी रेटेर बली दिएको कोदईले प्रहरीमा बयान दिएका छन् ।

‘साउन ५ गते बिहान भूत सवार हुँदा छोरा खेल्न थाल्यो, के पूजा चाहिन्छ सोधेपछि मान्छेको मासु चाहियो भन्न थाल्यो,’ प्रहरी हिरासतमा रहेका कोदईले भने– ‘मान्छेको पूजा दिई आफ्नो छोरा सन्चो हुन्छ भनेर छिमेकीको छोरालाई बली दिने योजना बनाएका हौं ।’

यसरी रचियो बलीको योजना(कोदईको बयान)

सोही दिन दिउँसो फेनहरा बजारबाट कपुर अगरबत्ती किनेर ल्याए । झाँक्री(सोखा)लाई बोलाए । सहयोगी रुदल र सूर्यभानलाई पनि बोलाए । घर नजिकै खेलिरहेको बालकलाई १० रुपैयाँको विस्कुट दिंदै बोलाए ।

बालक खुसी भयो, मसँग  हिड पछि ५० रुपैयाँ दिन्छु,भन्दै नोट देखाए । सोनु ५० को नोट देखेर पछि पछि आयो । उसलाई गाउँ बाहिर सिवानमा पुर्‍याए । झाँक्रीले पूजा गर्‍यो । अक्षता छक्र्यो । त्यस पछि रुदलले टाउको र हात समात्यो । सुर्यभानले खुट्टा र म उखु काट्ने गडासा (धारिलो हतियार) ले अगाडिबाट घाँटी रेटी दिए । बालक चिच्याउन खोज्दा मुख थुनी दिएको उनले सुनाए ।

हत्यापछि पछुतो त लागेको छ, तर के गर्ने आफ्नो छोरालाई सन्चो बनाउन थियो । त्यही केटालाई बली दिन भनेर सोचेको थिएन । तर त्यो बेला उही फेला पर्‍यो । छिमेकीसँग कुनै दुश्मनी थिएन् । उल्टै उनीहरुले हामीलाइ सहयोग गर्दै आएका थिए ।

हत्या गरि फर्केपछि  कुरा परिवार(पत्नि)लाई पनि सुनाउँदै कतै नभन्नु भनें । तर परिवारले उल्टै मलाई गाली गर्न थालिन् । तर उस्लाई हप्काउँदै कसैलाई नभन्न दबाव दिएको थिए । छिमेकीलाई सान्त्वना दिनका लागि खोजेर ल्याईदिन्छौं भन्दै भारत तिर गए ।  त्यहाँबाट फर्किदा प्रहरीले पक्राउ गर्याे  । गल्ति त गरेको छु । अब जे सजाय हुन्छ, त्यो सहन्छु ।

अभियुक्तकी पत्नीले खोलिन् घटना

आँगनमै जोडिएका छिमेकीबाट आफ्नो नातिको बली चढाइन्छ भनेर सोनुका हजुरबुआ परमानन्द कोहारले सपनामा पनि सोचेका थिएनन् । उनी नातिको हत्यापछि विक्षिप्त छन् ।

‘बिहान भूत चढ्दा उनीहरुले मान्छेको मासु चाहिन्छ भनेको त, सुनियो, तर आफ्नै भतिजो पर्छ भन्ने के थाहा,’ सोनुका काका लालबहादुर कोहारले भने, ‘भतिजो हराएपछि शंका भएको हो । उनीहरुलाई सोधखोज गर्दा हामी छिमेकी भएर किन यस्तो गर्छौ भन्ने जवाफ दिए ।’

सोनुको शव भेटिएपछि कोदईकी श्रीमती कान्तिलाई दुई झापड दिएपछि उसैले घटनाको रहस्य खोलेको लालबहादुरले बताए । बली चढाएको कुरा खुलासा भएपछि आक्रोसित गाउँलेले आरोपित परिवारको घर तोडफोड र भत्काइदिएका छन् ।

घटनामा संलग्न नभएका परिवारलाई गाउँमा बस्ने वातावरणका लागि पहल गर्न प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले आग्रह गरेका छन् । ‘दोषिलाई सजाय हुन्छ,’ उनले भने, तर, निर्दोषलाई पनि गाउँमा बस्ने समाजिक वातावरण छैन्, त्यसका लागि सबैले पहल गर्नुपर्छ ।’ बली चढाइएको खुले पनि प्रहरीले त्यसलाई कर्तव्य ज्यान नै भनेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.