बलात्कारीको लिङ्ग काटिदिनुपर्ने सुझाव
५ साउन, काठमाडौँ । संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा अधिकांश वक्ताले अब बन्ने नयाँ संविधानमा राजनीति गर्ने सबैको शैक्षिक योग्यता र उमेरको हद तोकिनुपर्ने सुझाव दिएका छन् ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिद्वारा आज नयाँ बानेश्वरस्थित भिएस निकेतनमा आयोजित काठमाडौँ क्षेत्र नं १ को कार्यक्रममा अधिकांशले राज्यका सबै क्षेत्रका पेसामा जस्तै राजनीतिमा पनि उमेर र शैक्षिक योग्यताको हद तोकिनुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा संविधानको मस्यौदामाथि सुझाव दिँदै पवन कार्कीले मुलुकको राजनीतिमा ८० वर्षसम्म पनि नेता सक्रिय रहिरहने परम्पराका कारण देश निर्माणमा युवाको जोस र जाँगर उपयोग हुन नसकेको बताए । सीता खरेलले मुलुकको कार्यकारी प्रमुख स्नातकोत्तर पढेको हुनुपर्ने सुझाव दिँदै सभासद्को सङ्ख्या पनि कटौती गर्नुपर्ने बताए ।
त्यस्तै अधिकांश वक्ताले गम्भीर प्रकृतिका अपराधका साथै भ्रष्टाचारी, दुराचारी र बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने सुझाव दिएका छन् । इन्दु थापाले बलात्कार गर्नेको लिङ्ग छेदन गर्नुपर्ने व्यवस्था नयाँ बन्ने संविधानमा राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा कार्यकारी प्रमुख जनताद्वारा प्रत्यक्ष निर्वाचित हुनुपर्ने, बहालवाला न्यायाधीशमाथि पनि छानबिन गरी भ्रष्टाचारको कारवाही गरिनुपर्ने, स्वरोजगार भत्ताभन्दा पनि रोजगारको सुनिश्चित हुनुपर्ने, जातका आधारमा नभई वर्गका आधारमा आरक्षण हुनुपर्ने, छुवाछूतको अन्त्य हुनुपर्ने, राजनीतिक नेतृत्वमा अध्यात्म ज्ञान हुनुपर्ने, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने, प्रस्तावनमा मधेस आन्दोलन उल्लेख गरिनुपर्ने सुझाव आएका थिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.