सीसी क्यामेरा राख्दै हुनुहुन्छ ? ख्याल गरौँ
प्रहरीले सीसी क्यामेरा देखेपछि त्यसबाट छेलिँदै घरभित्र प्रवेश गरेर शाहलाई खोज्यो तर उनी त्यहाँ थिएनन् । ललितपुर नखिपोटस्थित शाहको घरको गेटमा सीसी क्यामेरा राखेको भए पनि त्यसको सूचना टाँसिएको थिएन । शाहले सुरक्षाका कारण देखाउँदै सीसी क्यामेरा जडान गरेको भने पनि सूचना नदिई सीसी क्यामेरा राख्नु गैरकानुनी रहेको छ ।
सुरक्षाको कारण देखाउँदै सरकारी, निजी कम्पनी, सार्वजनिक स्थल तथा व्यक्तिगत निवासमा पनि सीसी क्यामेरा राख्न थालिएपछि यसको प्रयोग र नियमनबारे प्रश्न उठ्न थालेको छ ।
सीसी क्यामेरा प्रयोगकर्ता बढे पनि अधिकांशले तपाईं ‘सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने सूचना टाँस्ने गरेका छैनन् । सर्वसाधारणलाई जानकारी नै नगराई सीसी क्यामेरा राख्नु गैरकानुनी हो । सीसी क्यामेराको खरिद र प्रयोगबारे सरकारले उचित मापदण्ड नबनाउँदा यसको दुरुपयोग हुने सम्भावना बढेको छ ।
सरकारले सीसी क्यामेराको प्रयोग र नियमनबारे कुनै कानुन बनाएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सीसी क्यामेरा राख्न प्रशासनबाट अनुमति लिनु नपर्ने बताए ।‘सुरक्षा कारणले सबैले सीसी क्यामेरा प्रयोग गर्न सक्छन्,’ प्रजिअ अर्यालले भने, ‘अरूको गोपनीयता भंग हुने र सुरक्षालाई असर गर्ने गरी भने कसैले सीसी क्यामेरा राख्न पाउँदैन ।’
निजी घरमा सीसी क्यामेरा जडान गर्दा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने उनले बताए । सुरक्षाका कारण देखाउँदै तारे होटेलदेखि सामान्य रेस्टुरेन्टहरूले समेत आफूखुसी सीसी क्यामेरा जडान गरेका छन् ।
रेस्टुरेन्टहरूमा सीसी क्यामेरा प्रयोग भए पनि अधिकांशले सर्वसाधारणलाई सूचित गर्दैनन् । ‘प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका डन प्रवृत्तिका व्यक्तिहरूले खोलेको कतिपय रेस्टुरेन्टमा सीसी क्यामेरा प्रयोग भएको छ ।
उनीहरूले सूचनासमेत टाँसेका छैनन्,’ एक डीआईजीले भने, ‘त्यहाँ खान जाने जोकोहीलाई उनीहरूले ‘ब्ल्याक मेलिङ’ गर्ने खतरा रहन्छ । सीसी क्यामेराको प्रयोग र खरिदबारे कानुन बनाउनुपर्छ ।’
सीसी क्यामेराको प्रयोगबारे कुनै लिखित मापदण्ड र कानुन नभए पनि कसैको गोपनीयतामा असर पर्ने गरी सीसी क्यामेरा राख्न पाइँदैन । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले सुरक्षाका कारण जोकोहीले सीसी क्यामेरा राख्न पाउने भए पनि पछिल्लो समयमा प्रयोगकर्ता बढ्दै गएकाले नियमन आवश्यक भएको बताए । अन्नपूर्ण पोस्ट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses