वैदेशिक रोजगार व्यवसायीलाई तीनदिने अल्टिमेटम
२१ असारदेखि निरन्तर सरकारी निर्णयविरुद्व आन्दोलन गर्दै आएका म्यानपावर व्यवसायीलाई तीन दिनभित्र आन्दोलन स्थगन गरेर व्यवसाय सुचारु गर्न श्रम तथा रोजगार मन्त्रालयले निर्देशन दिएको छ । कार्य सञ्चालन नगरे वैदेशिक रोजगार ऐन–०६४ र नियमावली–०६४ बमोजिम कारबाही हुने बताइएको छ ।
सरकारले २१ असारदेखि ६ खाडी देश र मलेसियामा ‘फ्रि भिषा’ फ्रि टिकटमा मात्र कामदार पठाउने निर्णयविरुद्व उत्रेका व्यवसायीले तीन दिनभित्र आन्दोलन स्थगन गरेर व्यवसाय सञ्चालन नगरे कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले सूचना जारी गरेर भनेको छ, ‘सूचना प्रकाशित भएका मितिले तीन दिनभित्र आफनो आन्दोलन र हड्ताल स्थगन गरी व्यवसाय सञ्चालन गर्न सम्बन्धित सबै सरोकारवालालाई सूचना जारी गरिएको छ ।’ त्यस अवधिभित्र कार्य सञ्चालन नगरे वैदेशिक रोजगार ऐन–०६४ र नियमावली–०६४ बमोजिम कारबाही हुने बताइएको छ । जारी सूचनामा कारबाही गर्ने भने पनि ऐन, नियमावलीको कुन दफा, कुन उपदफाअनुसार कारबाही भन्ने उल्लेख छैन ।
रोजगारीका लागि विदेश जाने युवा विदेश जान नपाएका कारण अलपत्र परेको भन्दै म्यापावर खुलाउन आग्रह गर्दै सूचना प्रकाशन गरे पनि त्यसले कुनै फरक नपार्ने व्यवसायीको भनाइ छ । सरकार र व्यवसायीबीच वार्ता भइरहेको छ, वार्ता निष्कर्षमा पुग्न लागेका समय वार्ता असफल बनाउनेको प्रभावमा यो सूचना आएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका सल्लाहकार टंक राउतको भनाइ छ ।‘सरकार र व्यवसायीको वार्ता निष्कर्षमा पुग्न लागेका समयमा वार्ता भाँडने नियतले सूचना जारी भएको हो,’ राउतले भने, ‘यसले वार्तालाई असर नपार्ला भन्न सकिन्न ।’
‘व्यवसाय सञ्चालन गर्ने वा नगर्ने भन्ने व्यवसायीको स्वतन्त्रतामा भर पर्ने कुरा हो,’ वैदेशिक रोजागर व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले भने, ‘कोही कसैको व्यक्तिगत स्वतन्त्रता हनन गर्ने अधिकार कसैलाई पनि छैन् ।’ उनले कार्यालय खोल्न पाउने अधिकार होस् या युवा विदेश पठाउने अधिकार व्यवसायीहको भएको बताए । उनले सूचना व्यवसायी अत्याउन मात्र प्रकाशन गरेको बताए । सरकारले अन्दोलन थेग्न नसेर सूचना जारी गरेको खनालले बताए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस




0 comments
Write Down Your Responses