युनिटीका सञ्चालक विष्णु क्षेत्रीको ‘हत्या’ ?
काठमाडौँ, २३ असार । लाखौँ सर्वसाधारणबाट अर्बौ रुपैँया ठगी गरेको युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको ‘हत्या’ गरिएको छ ।
ललितपुरको भैँसीपाटीमा मंगलबार उनको ‘गोली हानी हत्या’ गरिएको विष्णुका दाजु कृष्ण क्षेत्रीले दैनिक नेपाललाई जानकारी गराए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भाइ विष्णुको हत्या गरिएको खबर सार्वजनिक गरेका थिए ।
कृष्णले विष्णुलाई ‘गोली हानी हत्या’ गरिए पनि प्रहरी वा अरु कसैले हत्या गरेको भन्ने खुल्न नसकेको बताएका छन् । उनले रगतले लत्पतिएको तस्वीर समेत फेसबुकमा सार्वजनिक गरेका छन् ।
प्रहरीले भने यसको आधिकारिक पुष्टि गरेको छैन । मंगलबार अबेरमात्र यो घटना जानकारीमा आएकाले प्रहरी अधिकारीसँग सम्पर्क हुन सकेन ।
तर, फेसबुकमा मृत शरीरको तस्वीर सार्वजनिक गर्दै कृष्णले आफू पीडामा रहेको बताएका छन् । आफू पनि विदेशमै रहेका कारण घटनाबारे विस्तृत विवरण पाउन नसकेको उनको दाबी छ ।
पर्वतका कृष्णबहादुर र विष्णुबहादुर क्षेत्री युनिटीका संचालक हुन् । उनीहरु दुवै जना फरार छन् । विष्णुबहादुर युनिटीका प्रबन्ध निर्देशक थिए । बहुचर्चित युनिटी लाइफ काण्डमा सर्वसाधारणको ३ अर्ब ७९ करोड बढी रकम फसेको थियो । सोही अभियोगमा जिल्ला अदालत ललितपुरले युनिटीका अध्यक्ष काशी गुरुङसहित १२ सञ्चालकलाई एक बर्षअघि दोषी ठहर गर्दै तीन बर्ष जेल सजायको फैसला गरेको थियो । अदालतको फैसला बमोजिम अध्यक्ष गुरुङसहित अधिकांश सञ्चालक जेल गए पनि प्रवन्ध निर्देशक विष्णु क्षेत्री फरार थिए ।
युनिटीका एक सदस्यले भने प्रहरीबाट जोगिन क्षेत्री दाजुभाइले नाटक गरेको दाबी गरेका छन् । किनकी घटना निकै शंकास्पद देखिएको छ । मंगलबार साँझ ५ बजेको घटना भनिए पनि यो घटना कतै सार्वजनिक भएको छैन् । न त प्रहरीले नै यसको आधिकारिक जानकारी दिएको छ । विष्णुका दाजु कृष्णले फेसबुकबाट मात्र सार्वजनिक गरेकाले उनको यो अर्को प्रोपागाण्डा हुन सक्ने अनुमान समेत गरिएको छ । साभार दैनिक नेपाल

,

0 comments

Write Down Your Responses

Powered by Blogger.