हरि पराजुलीले भने, ‘असार १५ को रमाइलो न हो’
कृषि मन्त्री हरि पराजुलीले धान दिवसका अवसरमा महिलासँग हिलो खेलेको विषयलाई लिएर पार्टीकै केन्द्रीय नेताहरुले आलोचना गरेकामा आपत्ति जनाएका छन् । उनले भने, ‘न मेरो खराब नियत थियो, न मिडियामा आइजस्तो नै हो ।’
महिलाबाट पनि खण्डन
मंगलबार कृषि मन्त्री रोपाइँमा पुगेको विषयमा नेपाली मिडिया र नेकपा एमालेभित्र सनसनी बनेपछि उनलाई बोलाउने दुई महिला समूहले पनि अतिरञ्जना भएको बताएका छन् । मनोहरा मिश्रित कृषक समूह र महाङ्काल सफल कृषक समूहले बुधबार विज्ञप्ति निकालेर रोपाइँका विषयमा अनावश्यक चर्चा भएको भन्दै खण्डन गरेका छन् । उनीहरुले समाचार कपोलकल्पित, दिग्भ्रमित र अनर्गल नै भनेका छन् ।
बिहीबार पत्रकार सम्मेलन
१५ असारमा मन्त्रीसँग रोपाइँ रमाइलो गरेका महिला समूह र रमाइलो गर्न पुगेका मन्त्री पराजुली १७ असार अर्थात् बिहीबार फेरि एकैस्थानमा देखिने भएका छन् । उनीहरुले रोपाइँ रमाइलोका विषयमा अनर्गल प्रचार भएपछि बिहीबार पत्रकार सम्मेलन गर्न लागेका छन् । पराजुलीनिकट स्रोतले भन्यो, ‘स्थान फिक्स भइसकेको छैन, पत्रकारहरुलाई खबर हुँदैछ । बिहीबार पत्रकार सम्मेलन हुन्छ ।’
एमालेमा आलोचना
कृषिमन्त्री हरि पराजुलीको तस्बिर बाहिर आएपछि एमालेमा आलोचना भएको छ । एमाले नेता प्रदीप नेपालले खुलेर यसको विरोध गरेका छन् । घुमाउरो भाषामा स्थायी कमिटी सदस्य शंकर पोखरेलले ट्विटरमा विरोध गरेका छन् । केन्द्रीय सदस्य टंक कार्कीले पनि आलोचना गरेर फेसबुक स्ट्याटस लेखेका छन् । वैकल्पिक केन्द्रीय सदस्य माधव ढुंगेलले पद छाडे हुने तर्क लेखेका छन् । एमालेकै पत्रकारहरुले पनि आलोचना गरेका छन् । यद्यपि एमालेले मन्त्री पराजुलीलाई अहिलेसम्म कुनै स्पष्टिकरण सोधेको छैन ।
पराजुलीको पुत्लादहन हुने
कृषि मन्त्री हरि पराजुलीको पुत्ला एमाले कार्यकर्ताले नै जलाउने भएका छन् । एमालेको प्रभावशाली जनसंगठन अनेरास्ववियूले बिहीबार उनको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको हो । अनेरास्ववियूका शैक्षिक विभाग सचिव सुदेश पराजुलीले संगठनले व्यभिचारी मन्त्रीको बिहिबार बिहान ८ बजे सरस्वती क्याम्पस अगाडि पुत्ला जलाउने कार्यक्रम तय गरेको बताए ।
सुवास देवकोटाको ब्लगः राजीनामा वा फिर्ता
असार १५ को धान दिवसको दिन महिलालाई अभद्र व्यवहार गर्ने कृषि मन्त्री हरि पराजुलीले कि जानेर आफै राजीनामा दिनु राम्रो, होइन भने एमालेले उनलाई मन्त्रीबाट फिर्ता बोलाउनु पर्छ । किनभने, सभ्य समाजमा मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको यस्तो अभद्र व्यवहार सह्य हुदैन ।
यस्तै केही पात्रकै कारण हो, राजनीति र राजनीतिक नेताहरु समाजमा बदनाम हुनु परेको । मन्त्री जस्तो राज्यको सबैभन्दा उपल्लो कार्यकारी पदमा पुग्ने व्यक्तिले पदको महत्व नबुझ्दा, पद अनुसार काम नगर्दा तथा सामान्य मानिसले समेत गर्न नमिल्ने व्यवहार गर्दा इमान्दार र मुलुकका लागि केही गरेका तथा गर्न चाहने राजनीतिक नेताहरु पनि बदनाम हुनुपरेको छ । हुन त यो स्वभाविक हो कि, राम्रोभन्दा नराम्रो कामको प्रचार र चर्चा बढि हुन्छ । त्यसमाथि, समाजका अगुवाई गर्नेहरुबाट अपेक्षा बढि गरिने हुनाले उनीहरुको सानो नकारात्मक कामको पनि बढि चर्चा हुनेगर्छ । कहिले काहि केहीका त्यस्तै कामका कारण राजनीतिक नेताहरुका ठूला कामहरु पनि आझेलमा पर्न जान्छन् ।
अहिलेकै कुरा गर्ने हो भने, भूकम्पपछि पिडितहरुलाई अस्थायी बासस्थान निर्माण गर्न अग्रणी रहेर प्रसंसा कमाएको नेकपा एमाले मन्त्री पराजुलीकै कारण बदनाम हुने देखिएको छ । पराजुली मन्त्रीमा रहिरहे भने एमालेले महिला अधिकारवादीको मात्र नभएर सम्पूर्ण सभ्य समाजकै आक्रमण खेप्नु पर्नेछ । त्यसपछि उसले भर्खरै भूकम्प पिडितको बासस्थान व्यवस्थापन गरेर कमाएको शाख पनि कायम नरहन सक्छ ।
त्यसैले, एमालेले आफ्नो शाख बचाउने हो भने तत्काल मन्त्री पराजुलीलाई मन्त्री पदबाट फिर्ता बोलाउनु पर्छ । उनी कुन गुटतर्फबाट मन्त्री भए तथा कुन गुटका नजिक छन्, यो आम नेपालीलाई सरोकार छैन तथा एमाले नेतृत्वले पनि यसमा सरोकार राख्नु हुदैन । हो, नैतिकता र इज्जत बाकि छ तथा पछि पनि राजनीति गर्ने इच्छा राख्छन् भने उनैले राजीनामा दिएको सबैभन्दा राम्रो । किनभने, स्मरण पातलो रहेको नेपाली समाजको गल्ती स्विकार्नेलाई माफी दिने संस्कार छ । उनको हकमा पनि यो लागू नहुने कारण छैन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses