हिन्दुवादी र प्रहरीको झडपले इटहरी तनावग्रस्त
श्रावन १२,
चन्दन रौनियार
इटहरी, १२ साउन(ओएनएस) : नयाँ संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादी र प्रहरीबीच आज इटहरीमा झडप भएको छ । झडपका क्रममा राप्रपा नेपालका इटहरी अध्यक्ष रामु पोखरेल सहित एक दर्जन बढी प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी घाइते भएका छन् ।
घटनालाई नियन्त्रणमा लिन प्रहरीले नौ राउण्ड अश्रृग्यास प्रहार गरेको छ । अझै पनि इटहरीमा बारम्बार झडप भइरहेको छ भने स्थिति अझै तनावग्रस्त छ । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र सुनसरीका प्रहरी प्रमुख सञ्जय शर्माको उपस्थितिमा आज बिहान इलाका प्रहरी कार्यालय इटहरीमा वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समितीबीच शान्तिपूर्ण प्रदर्शन गर्ने र नेपाल झण्डाको दुरूपयोग नगर्ने सहमति भएपनि प्रहरीले आन्दोलनको नेतृत्व गर्दै आएका सन्त श्रीनिवास आचार्यलाई सहमति भएको केहि समयपछि नै नियन्त्रणमा लिएपछि हिन्दुवादीहरू आक्रोशित भएका हुन् ।
आक्रोशित हिन्दुवादीहरुले श्रीनिवासलाई छोड्नुपर्ने भन्दै प्रहरीविरुद्ध ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले पनि अन्धाधुन्ध लाठी प्रहार गरेको थियो भने अश्रृग्याँस पनि प्रहार गरेको थियो । लाठी चार्जबाट बृद्धबृद्धाहरू समेत घाइते भएका छन् ।
गम्भिर घाइते भएका रामु पोखरेललाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने अन्य घाइतेहरुको इटहरीकै सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
झडपपछि अहिले इटहरी बजार पूर्ण रूपमा बन्द भएको छ भने हिन्दुवादीहरूले इटहरीमा साइकल समेत चल्ने नदिनेगरी बन्द गरेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.