नेपाली युवतीको चीन सपना चकनाचुर
काठमाडौं—सम्पन्न आधुनिक जीवनशैलीको सपना बुन्दै चिनियाँ नागरिकसँग उत्तरी छिमेकमा घरजम बसाउने नेपाली युवतीहरुका सपना अन्ततः यौन हिंसा, यातना र शोषणमा परिणत भएका छन्। चीन पुगेर जीवनमा सुखसयल थप्ने अनि नयाँ उल्लासमा बाँच्ने उनीहरुका सपना टुक्रिएका छन्। यौन हिंसा र शोषण खेपिरहेका त्यस्ता धेरै नेपाली युवती अहिले चीनमा उद्धारको पर्खाइमा छन्।


नेपाली युवतीको विस्तृत व्यक्तिगत विवरण तथा ठेगाना नखुल्दा उद्धार गर्न सरकारी अधिकारीलाई अप्ठ्यारो परिरहेको छ। नेपालबाट चीनका विभिन्न गाउँ तथा सहर पुर्‍याइएका उनीहरुले आफू वरिपरिको स्थान र समुदायबारे सरकारी अधिकारीलाई जानकारी दिन नसक्दा उद्धार कठिन बनेको हो।

काभ्रेकी २१ वर्षीय सानुमाया (नाम परिर्वतन) लाई नेपाली दललाले चीनको आधुनिक र वैभवपूर्ण जीवनशैली भएको पुरुषसँग विवाह गरी घरजम गर्ने सपना देखाएका थिए। अहिले उनी आफू दुवै देशमा केटी बेच्ने दलालको शिकार भएको अनुभव गर्दैछिन्।

सेल्फी खिचेर वीच्याटबाट उजुरी
सानुमाया गत माघ महिनामा सुखसयलयुक्त जीवनशैलीको घरजम गर्ने सपना साँचेर चीन प्रवेश गरेकी थिइन्। तीन महिनासम्म अमानवीय यातना, दुर्व्यवहार र शारीरिक शोषण व्यहोरेपछि उनले नेपाल फर्किने सोच बनाइन्। एकजना नेपाली साथीको सुझावमा उनले म्यासेज तथा फोन एप वीच्याटबाट यातना र दुर्व्यवहारबारे बोइजिङ स्थित दूतावासलाई सूचना दिइन्। कुटपिटपछि शरीरमा लागेका घाउचोट देखिनेगरी खिचिएका सेल्फी फोटो पनि उनले दूतावासलाई पठाइन्। (हेर्नोस् माथिको फोटो)
उनले अाफूमाथि चिनिया पति, ससुरा तथा परिवारका अन्य पुरुष सदस्यले दैनिक पालैपाले यौन शोषण गर्ने गरेको तथा अमावनीय शारीरिक यातना दिने गरेको दूतावासमा जनाइन्। बेइजिङ स्थित नेपाली दूतावासका अनुसार उनको उजुरी जुनको अन्त्यमा परेको थियो। नेपाली दूतावास कर्मचारी उत्तम घिमिरेकाअनुसार सोही उजुरीका आधारमा दूतावासले चीनको स्यान्डोङ प्रदेश स्थित विदेश मामिला कार्यालयलाई पत्राचार गर्दै उनलाई उद्धार गर्न कुटनीतिक पहल सुरु गर्‍यो।
स्थानीय प्रहरी र घिमिरे नेतृत्वको नेपाली दूतावास टोलीले पीडित नेपाली युवती यान चेन कन्ट्रीमा रहेको निश्चित गरेको थियो। युवती रहेको स्थान ग्रामीण भेग भएका कारण उद्धारकर्ता प्रहरी र दूतावास टोलीलाई त्यहाँसम्म पुग्न घन्टौं लागेको थियो।
'हामी त्यहाँ पुग्दा चिनियाँ पति तथा परिवार सदस्यहरु नेपाल स्थित परराष्ट्र मन्त्रालय, चिनियाँ दूतावास र भक्तपुर जिल्ला प्रशासन कार्यालयको विवाह दर्ता प्रमाणपत्र लिएर तयार भएर बसेका रहेछन्', घिमिरेले नागरिकन्युजसँग भने। कानुनी कागजपत्र देखाएर प्रहरी र कुटनीतिक अधिकारी सामुन्ने उनीहरुले सुरुमा सानुमायालाई फिर्ता गर्न अस्वीकार गरेका थिए। कानुन व्यवसायीसँग समेत परामर्श गरेका थिए। अन्ततः उनीहरुले लगानी गरेको पैसा फिर्ता गर्ने सर्तमा सानुमायालाई हस्तान्तरण गर्न चिनियाँ परिवार बाध्य भयो।
सानुमायाले नर्कबाट उद्धार पाइन्।
एजेन्टलाइ ५ हजार डलर तिरेका छौं: चिनियाँ पति
'विवाह अघि र पछि हामीले स्थानीय एजेन्टलाई ५ हजार अमेरिकी डलर तिरेका छौं। केटीलाई ४० हजार आरएमबी बुझाएका छौंं', चिनियाँ प्रशासन समक्ष सानुमायाका चिनियाँ पतिले बयान दिएका छन्। युवतीलाई दिन भनेर नेपाली एजेन्टले पैसा असुलेको पुष्टि भएको छ। चिनियाँ प्रशासनले एजेन्ट पक्राउ गरेपछि पैसा फिर्ता गर्ने सर्तमा युवतीलाई छाडेको हो।

बेइजिङ स्थित नेपाली दूतावासमा अहिले उद्धारका लागि युवतीले पठाएका उजुरीको चाङ लागेको छ। 'हामी नक्कली विवाह गरी नेपाली युवतीलाई बन्दक बनाएका घटनामा कुटनीतिक पहल गरी उद्धार गर्न तयार छौं', चीनका लागि नेपाली राजदूत महेश मास्केले नागरिकन्युजसँग भने, 'हामीसँग उनीहरुको रहेको स्थानबारे विस्तृत जानकारी नहुँदा अप्ठ्यारो भइरहेको छ।'

विवाहको नाटक रचेर सरकारी कार्यालयमा विवाह दर्तागरी चीन पुगेका युवतीले उद्धारका लागि सहयोगको आश गरिरहेको बारे नेपाल प्रहरी जानकार छ। 'चीन पु¥याइएका नेपाली युवतीले उद्धारका लागि सहयोग खोजिरहेको जानकारीमा आएको छ', केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी हेमन्त मल्ल भन्छन्, 'त्यहाँ उनीहरुको विस्तृत परिचय अभावले काम गर्न गाह्रो भइरहेको छ। कोसिस जारी छ।'

फागुनको पहिलो साता नागरिक दैनिकले नक्कली विहेको प्रपञ्च गरी नेपाली युवती चीन गइरहेको खुलासा गरेको थियो। प्रहरीको सिआइबीले त्यसपछि यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको थियो।
 स्रोत: नागरिक न्युज
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.