आफ्नैले धन्दामा धकेलेपछि
 शनिबार, श्रावन ३०,
   
रक्सी र जुवाको कुलतमा फसेको श्रीमान् ललाई–फकाई, तर्साई–धम्काई श्रीमतीलाई देहव्यापारमा लगाउँछ। छोरीलाई पुरुषको ओछ्यानसम्म पुर्‍याउँछिन् आमा। बहिनीलाई बेचिदिन्छ दाजु। सम्बन्धहरू कतिसम्म क्रूर भएका हुन्, मान्छेहरू कतिसम्म गिरेका हुन्! राजधानी तथा देशका थुप्रै शहरमा फस्टाइरहेको छ देहव्यापार। विभिन्न बाध्यताले यो पेशा अपनाएका महिलामध्ये केही यस्ता छन्, जसलाई आफ्नैले अँध्यारो भविष्यतिर धकेलिदिए।

घटना १
सिन्धुपाल्चोकका दीपक पण्डितले भक्तपुर बालकोटमा किरानापसल थापे। जुवा र रक्सीको उनको अम्मललाई पसलले धान्न सकेन। त्यसपछि उनले त्यही पसलपछाडि रहेको आफू सुत्ने कोठामा यौनधन्दा चलाए। उनले आफ्नै श्रीमती बिना (नाम परिवर्तन) लाई धन्दामा लगाए। उनी ग्राहक खोज्दै कोठामा लैजान्थे र आफ्नी श्रीमती अर्कालाई सुम्पिन्थे। छोराछोरीलाई कोठामा पस्न दिँदैनथे र श्रीमतीलाई दिनभरि देहव्यापारमा लगाउँथे। सजिलै आम्दानीको स्रोत फेला परेपछि उनले त्यसलाई ठमेलको मसाज सेन्टरसम्म विस्तार गरे। बिना शारीरिक र मानसिक यातनाले जर्जर भइन्। उता दीपक भने उनले कमाइदिएको पैसाले मोजमस्ती गर्थे।
घटना २
राम पनेरुले नयाँ बसपार्क छेउमा चियापसल खोले। शहरमा दुःखजिलो गरेर छोराछोरी पढाउँला, सुखले बाचौँला भन्ने सपना देखेकी थिइन्, उनकी श्रीमती मिना (नाम परिवर्तन) ले। रामले श्रीमतीलाई ‘यहाँ बाँच्न अरू चिज पनि गर्नुपर्छ’ भन्न थाले। ‘सबैले त्यस्तै गर्छन्, रमाइलो हुन्छ’ भन्दै फकाउन थाले। एकजना चिनेजानेकै युवकसँग त्यस्तो गर्न भने। श्रीमान्को दुःख देखेकी उनले रुँदै त्यो परपुरुषलाई आफ्नै पुरुषका अघि स्विकारिन्। त्यसपछि रामले दिनदिनै नयाँ युवक ल्याउँदै श्रीमतीलाई तिनीहरूको यौन प्यास मेटाउन बाध्य पारे। टिनको छाप्रोमा बाहिर चिया पसल र भित्र अर्थाेकै पसल चलाए रामले। कमाइ एकैचोटि बढेपछि झन् लोभिए उनी। त्यसपछि भतिजी पर्ने २० वर्षे ललिता (नाम परिवर्तन) लाई पनि जागिर लाइदिने बहानामा काठमाडौँ बोलाए। रामले उनलाई पनि त्यही पेशामा धकेलिदिए।
घटना ३
पाँच वर्षअघि श्रीमान् बितेपछि घरपरिवार धान्ने जिम्मा गीता मिजारको काँधमा आइपर्यो्। चार छोराछोरी हुर्काउने, बढाउने, पढाउने जिम्मा मुख्य थियो। गाउँमा मेलापात गरेर बाँच्न नसकिने देखेपछि उनी झिटीगुन्टा बोकेर राजधानी पसिन्। घरखेत बेचेर ल्याएको पाँच लाख रुपैयाँ हालेर कोटेश्वरमा एउटा होटल किनिन्। होटलमा यौनकर्मी केटी राख्ने धेरै प्रयास गरिन् तर भेटिएनन्। अन्तिममा आफ्नै दुईजना किशोरी छोरी उनको दाउमा परे। क्याम्पस पढ्ने छोरीहरूलाई उनले फकाई–फुलाई धन्दामा लगाइन्। गीताका छोरा विदेशमा थिए। उनले बुहारीलाई पनि धन्दामा लगाइन्।
घटना ४
जागिर गर्दै पढ्न पाइन्छ भनेर राजधानी पसेकी रीमा (नाम परिवर्तन) यहाँ आएर फुपूको घरमा बस्न थालिन्। फुपूको घरमा कम्युटर चलाउन, टीभी हेर्न, मीठो–मीठो खान पाएपछि निकै खुशी भइन्। बिहान कलेज जाने अनि दिनभरि फुपूका छोराछोरीसँग रमाइलो गर्न पाउँथिन्। एक वर्षपछि फुपूले ‘अब तिम्रो उमेर भयो, जागिर गर्नुपर्छ’ भन्न थालिन्। र, त्यो जागिर थियो– आफ्नो शरीर सुम्पिनु।
आफन्तहरूको दबाब र प्रलोभनमा शरीर बेच्न बाध्य महिलाका कथा हुन् यी। श्रीमान्, बाउआमा, काकाकाकी, फुपूलगायत आफन्तले जबर्जस्ती र ललाई–फकाई यौनधन्दामा लगाएका महिला राजधानीमा थुप्रै छन्।  परिवारकै कारणले यौन पेशा अपनाउँदै आएका पश्चिम नेपालका वादी समुदायका महिलाले यौन पेशा त्यागेको घोषणा गरिरहँदा शहरमा भने परिवारकै कारण यौनधन्दामा सामेल हुने बढ्दै गएका छन्। राजधानीलगायत देशका मुख्य शहरमा आफन्तक़कै कारण यौनव्यापारमा संलग्न महिला थुप्रै छन्। भक्तपुर जिल्ला अदालतले हालै गरेको एउटा फैसलाले धेरैलाई ‘यस्तो पनि हुनसक्छ र!’ भन्ने बनाएको थियो। तर, आफन्तबाटै पीडित भएर चुपचाप बस्नेको संख्या ठूलो छ। बिनाले त्यसै श्रीमान्विरुद्ध कानुनी लडाइँ लडेकी होइनन्। जबर्जस्ती यौनधन्दामा धकेलिएकी बिनालाई असह्य भएपछि उनी रक्षा नेपालको सम्पर्कमा पुगिन्। सोही संस्थाको सहयोगमा उनले श्रीमान् दीपकविरुद्ध अदालतमा उजुरी दिने आँट गरिन्। अदालतले प्रमाण र बयानका आधारमा दीपकलाई ११ वर्ष कैद र ५५ हजार रुपैयाँ जरिवाना तथा त्यसको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने फैसला गर्‍यो। बिना अहिले संस्थाकै संरक्षणमा छोराछोरीसहित छुट्टै बस्दै आएकी छिन्। ज्यामी काम गरेर गृहस्थी धानिरहेकी उनी फैसलापछि खुशी छिन्। ‘अहिले खुशी भएर दिनभरि ज्यामी काम गर्छु। छोराछोरीलाई पढाएकी छु,’ उनले भनिन्, ‘अब त एक्लै पनि बाँच्न सक्छु। त्यस्ता राक्षस साथमा हुनुभन्दा नभएकै जाती।’ उनीजस्तो आँटी महिला कमै हुन्छन्। ‘श्रीमान्ले जति पीडा दिए पनि त्यसविरुद्ध बोल्ने आँट गर्दैनन्,’ महिला अधिकारकर्मी मोहना अन्सारीले भनिन्, ‘पण्डितको केसमा बिनाले आँट गरेकै हुन्।
उनको साहस, प्रहरी तथा अदालतको प्रयासलाई मान्नैपर्छ।’ फैसलाले धेरै महिलामा साहस बटुलिदिएको उनले बुझेकी छिन्। उनका अनुसार आफन्तबाटै यौन व्यवसायका लागि भारतलगायत देशमा बेचिनेको संख्या पनि ठूलो छ। ‘आफन्तकै दबाब र प्रभावमा धेरै महिला स्वदेशमै वेश्यावृत्तिमा लागेका छन्,’ उनले भनिन्। मिनाले एकपटक श्रीमान्विरुद्ध खनिने आँट गरेकी हुन्। तर, आफन्त तथा परिवारले त्यसो नगर्न भनेपछि उनी पछि हटिन्। ‘एकपटक संस्थामा पुगेकी हुँ। त्यो थाहा पाएर घरबाटै निकाल्नेजस्ता धम्की दिन थाले। छोराछोरीको बिचल्ली हुने डरले त्यसो गरिनँ,’ उनले भनिन्।
बुवाले आमालाई छोडेर अर्कै केटीसँग बिहे गरेपछि सुजिना (नाम परिवर्तन) लाई समस्या पर्यो । त्यसपछि आमाले समस्या कम होला भनेर १४ वर्षकै उमेरमा उनको विवाह गरिदिइन्। श्रीमान् र उनको परिवारले दाइजो नल्याएको भन्दै कुटपिट गर्दै घरबाट निकालिदिए। त्यसपछि उनी माइतीको शरणमा पुगिन्। माइतीमा पनि साना भाइबहिनीमात्र भएकाले उनले आफैँले कमाएर खानुपर्ने बाध्यता आइलाग्यो। उनको विकल्प बन्यो डान्स बार। ‘आमाले मलाई डान्सबारमा काम गरे धेरै पैसा कमाइन्छ भन्दै सुनाइराख्नुहुन्थ्यो,’ उनले सुनाइन्। त्यसपछि उनले त्यसै गर्ने निर्णय लिइन्। डान्सबारमा उनले नांगो नाचका साथै आफ्नो शरीर ग्राहकलाई सुम्पनुपर्थ्यो।
२० वर्षीया सुजिना अहिले आमा, भाइबहिनीलाई डान्सबारकै आम्दानीले पालिरहेकी छिन्। मसाज पार्लरमा काम गर्ने बबिता (नाम परिवर्तन) आफ्नो श्रीमान् र छोराछोरी पाल्नकै लागि यो पेशामा धकेलिइन्। रक्सी र लागुपदार्थका अम्मली श्रीमान्ले उनलाई मसाज पार्लरसम्म पुर्यापएका थिए। रक्षा नेपालले डान्सबार, मसाज सेन्टर, क्याबिन रेस्टुरेन्टहरूमा काम गर्ने महिलालाई संगठित गरेको छ। २१ वटा समूहमा पाँच सय महिला आबद्ध रहेको र उनीहरूकै कार्यस्थलमा पुगेर नियमित बैठक तथा छलफल गर्ने गरेको संस्थाका कार्यक्रम व्यवस्थापक रविन मल्लले बताए। यो संस्थाले वेश्यावृत्तिमा संलग्न महिलासँग पनि प्रत्यक्ष भेटघाट गरिरहन्छ। ‘त्यस्तो काममा लागेका अधिकांश महिला सुरुमा त बाध्य पारिएरै आउँछन्। बिस्तारै उनीहरू अभ्यस्त हुन्छन्। अब यहाँभन्दा अरू केही गर्न सक्दिनँ भन्ने भावना जाग्छ,’ मल्लले भने, ‘तर, त्यस्ता बाध्यता र दबाबविरुद्ध बोल्ने आँट कसैले गर्दैनन्।’ बिनाको केस ‘रेयर’ भएको उनले बताए। ‘यस्तो आँट कमैले गर्छन्,’ उनले भने। देहव्यापारमा लागेका सबै महिला सुरुमा बाध्यताकै चंगुलमा फस्ने गरेको बताउँछिन्, शक्ति समूहकी अध्यक्ष सुनिता दनुवार।
शक्ति समूहले केही वर्षअघि गरेको अध्ययनमा सहभागी तीन सय महिलामा सबैले आफूहरू बाध्य पारिएर यो पेशामा संलग्न भएको बताएका थिए। राजधानीलगायत शहरमा ५० देखि ६० हजारको संख्यामा देहव्यापारमा संलग्न महिला रहेको बताउने उनी भन्छिन्, ‘अधिकांश यौनकर्मी पेशा परिवर्तनको कुरै सुन्न चाहँदैनन्। उनीहरूलाई वैकल्पिक आर्थिक स्रोतमा विश्वास छैन। केहीलाई लत बसिसक्यो। केही नयाँ प्रवेशीलाई मात्र कन्भिन्स्ड गरेर पेशा परिवर्तन गराउन सकिने अवस्था छ।’
सोच नै त्रुटिपूर्ण : मोहना अन्सारी,
महिला अधिकारकर्मी धेरै महिला बाध्यताकै कारण देह व्यापारमा लागेका छन्। आफन्त वा परिवारकै दबाब र प्रभावमा त्यो काममा लागेका धेरै छन्। आफन्तबाटै महिला बेचिन्छन्। परिवार र समाजको डर लाग्छ उनीहरूलाई। एक त उनीहरूलाई पछि संरक्षण नहुने डर हुन्छ। प्रहरी पनि महिलामैत्री छैन। प्रहरीसँग सिम्प्याथी (सहानुभूति) र इम्प्याथी (समानुभूति) को कमी छ। पुरुषलाई महिलामाथि दबाब र शोषण बढाउन समाजले नै उक्साउने गरेको छ। फेरि हाम्रो सेाच पनि त्रुटिपूर्ण छ। यौन अखडामा जाने पुरुष र त्यहाँ काम गर्ने पुरुषलाई कसैले मतलब गर्दैनन्। तर, त्यहाँ महिला मात्र देख्छन् सबैले। प्रहरीले रंगेहात समायौँ भन्छ तर त्यहाँ महिला मात्र हुन्छन्। रंगेहात भेटियो भने पुरुष कहाँ गयो त? महिलालाई मात्र फसाउने नियत छ। उनीहरूको कारण बुझेर समस्या समाधान गर्ने इच्छाशक्ति छैन। म रातमा एउटा रेस्टुरेन्ट जाँदा भोलि जति होहल्ला होला, कोही पुरुष त्यसरी रातमा गएर होटलमा बबाल मच्चाउँदा त्यस्तो नहुन सक्छ। महिलालाई हेर्ने दृष्टिकोण नबदलिएसम्म यहाँ केही हुँदैन।
बिनाको बयान
अदालतबाट न्याय पाएँ। खुशी छु। अहिले छोराछोरीसहित रक्षा नेपालको संरक्षणमा छु। दिनभरि ज्यामी काम गर्छु। दिनमा साढे चार सय कमाउँछु। छोरी ४ मा र छोरा ६ कक्षामा पढ्छ। अहिले छोराछोरीको पढाइ पनि सुधारिएको छ। पहिला एकदुई विषय लाग्ने छोराछोरी अहिले फस्ट र सेकेन्ड भए। मलाई त दिनु नदिनु दुःख दियो नि त्यसले (श्रीमान्ले)। छोराछोरी पनि त्यसको डरले रोइरहन्थे। अक्षर पनि नचिनेकी मलाई शहरमा सुख पाइन्छ भनेर ल्यायो। यता ल्याएपछि मलाई त्यस्तो काम गर्नैपर्छ भन्न थाल्यो। जुवातास र रक्सीको अम्मली थियो। त्यसका लागि पनि पैसा धेरै चाहिने भयो। अनि ग्राहक ल्याएर मसँग पठाउँथ्यो। ती दिन सम्झ्यो भने अहिले पनि रुन मन लाग्छ। जीउ काम्छ। के–के भयो के–के! भन्न मन छैन। कस्ता–कस्ता राक्षससँग के–के गरियो। एकपटक टीभी हेर्दा रक्षा नेपालबारे थाहा पाएँ। त्यहाँ सम्पर्क गरेपछि मलाई आँट आयो। अनि उहाँहरूकै सहयोगमा उजुरी गरेँ। फैसला पनि भयो मेरै पक्षमा। छोराछोरीलाई धेरै पढाउने सपना छ। ज्यामी काम गरेरै भए पनि यिनीहरूलाई पढाउँछु।
साभार : शुक्रबार साप्ताहिकबाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.