मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएपछि परिवारको यसरी सुरु भो विजोग
जनकपुर, ३ असोज । सीमांकको विरोधमा मधेसी मोर्चाले थालेको आन्दोलनका क्रममा महोत्तरी सदरमुकाम जलेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका अमित कापरको परिवार अहिले छोराको किरियाखर्च जुटाउनसमेत असमर्थ छ ।
जलेश्वर नगरपालिका १४ बखरीका २२ वर्षका अमित परिवारमा एक्लो कमाउने व्यक्ति रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
विपन्न परिवारका अमितको बिहे सानै उमेरमा भएको थियो । बिहे भएकै वर्ष छोरा जन्मेपछि परिवारको खर्चको जोहो गर्न उनी ऋण काढेर खाडी मुलुक गएका थिए ।
त्यहाँ एक वर्ष काम गरेपछि उनी घर फर्किएका थिए । विदेशमा कमाएको रकम ऋणको व्याज तिर्नमै गयो । ऋण तिर्न अझै बाँकी रहेको आमा चन्द्रकलाले बताइन् ।
मेहनती स्वभावका अमितले गाउँमै मजदुरी गरेर ऋण तिर्ने निर्णय गरी ज्यालादारी रुपमा ट्याक्टर चलाएर ढुवानीको काम गर्ने गरेका थिए ।
उनी बुधबार जलेश्वरमा मोर्चाको जुलुसमा सहभागी हुन गए । झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भयो ।
उनको मृत्युपछि बुढी आमा चन्द्रकला, पत्नी गुडिया र चार वर्षका छोरा अमनको बिजोग भएको छ ।

भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments

Write Down Your Responses

Powered by Blogger.