भारतले नाकाबन्दी गरेपछि यसरी खुलाइदैं छ चीनतिरको सीमा नाका
अाजकाे नागरिक दैनिकमा खबर छ –प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दल तथा समूहले तराई–मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी (भारतीय सीमा) नाकामा अवरोध बढ्न थालेपछि उत्तरी मुख्य नाका तातोपानी र अर्को नयाँ नाका रसुवागढी खुलाउन उच्च तहबाटै चासो देखाइएको हो।
दसैंतिहार लगायत चाडसमेत नजिकिएकाले दसैंंअघि नै सञ्चालनमा ल्याउने गरी तातोपानी नाकालाई प्राथमिकतामा राखेर वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनसँग कूटनीतिक प्रयास गरिरहेको छ।
उच्च स्रोतअनुसार यथासम्भव दुवै, नभए तत्काल तातोपानी नाका खुलाउन मन्त्रालयले औपचारिक रुपमै चिनियाँ अधिकारीसँग वार्ता र छलफल अघि बढाइसकेको छ। मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीबीच बुधबार काठमाडौंमा यसबारे द्विपक्षीय वार्ता भएको थियो। दूतावासका कन्सुलरसहितका अधिकारी छलफलका लागि मन्त्रालय पुगेका थिए।
‘चाडबाडको मौसम सुरु भयो। अझै पनि अवरुद्ध नाका बन्दै राखिरहनु हुँदैन,’ वाणिज्य सचिव नइन्द्र उपाध्यायले बिहीबार नागरिकसँग भने, ‘दसैंअघि नै नाका खुलाउने ध्येयसाथ पहल थालेका हौँ।’
दुवै नाका खुलाउन चिनियाँ अधिकारी सकारात्मक देखिएको उनले जनाए। सम्भव भए दुवै, त्यसो हुन नसके पनि तातोपानी नाका दसैंअघि नै खुलाउन वाणिज्य अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेका थिए।
‘चाँडै नाका खुलाउने विषय हाम्रो चासोभित्रै थियो। बर्खा, बाढी, पहिरोले सकिएन। अब मौसम पनि अनुकूल बन्दैछ,’ चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सचिव उपाध्यायले भने। त्यस क्रममा नेपालको आग्रह तत्काल आफ्नो सरकारसमक्ष राख्ने कन्सुलरलगायत चिनियाँ अधिकारीले आश्वासन दिएका थिए।
चिनियाँ अधिकारीले दिएको जानकारीअनुसार केरुङ–रसुवागढी नाका पनि भूकम्पसँगै २५ किमि क्षेत्रमा गएको पहिरोले अवरुद्ध छ। पहिरो पन्छाउने काम द्रुत रुपमा भइरहेको छ। केरुङ, खासा नाका छुट्टिने सिगात्सेदेखि खासासम्म कुनै अवरोध छैन।
सडक ट्र्याकमार्फत तातोपानी जोड्ने काम अन्तिम चरणमा पुगेकाले यो नाका तत्काल सञ्चालनमा आउन सक्ने देखिन्छ। बर्खासमेत थामिँदै गएकाले छोटो दुरीको तातोपानीलाई प्राथमिकतामा राख्न अधिकारीले जोड दिएका हुन्।
वैशाख १२ को भूकम्पपछि बन्द तातोपानी र रसुवागढी दुवै नाका खुलाउन सरकारले बर्खा, बाढीपहिरोको बहाना बनाउँदै आएको छ। दक्षिणी नाकामा तनाब बढ्दा राजधानी उपत्यकालगायत भूभागमा आपूर्ति प्रभावित हुने देखेर उत्तरका नाका खुलाउने विषय सरकारको चासोभित्र परेको हो।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार सरकारले बेलैमा चासो दिएको भए असोज सुरुमै तातोपानी नाका खुलाउन सकिन्थ्यो।
‘नाका खुल्ने देखेरै निजी क्षेत्रले अर्थ, वाणिज्य मन्त्रालय गुहार्यो । उच्च राजनीतिक नेतृत्व भेटेर ध्यानाकर्षण गर्यो’,’ आयातकर्ता खत्रीले भने, ‘सरकारले नै चासो नदिएपछि नाका खुलाउने काम समयमै सुरु हुन सकेको थिएन।’ भूकम्प र अनुकम्पपछि चारपटक अवरुद्ध अरनिको राजमार्ग खुलाउन सहयोग गरेको चीनले समेत त्यसपछि नाका सञ्चालनमा ल्याउन भने त्यति चासो नदेखाएको उनको बुझाइ छ।
सरकारी स्तरबाटै पहल नभएपछि चीन मौन बसेको उनी ठान्छन्। ‘निरन्तर चासोसाथ अनुरोध गर्ने हो भने तातोपानी नाका खुलाउन अझै पनि धेरै समय लाग्दैन,’ नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य खत्री बताउँछन्।
वाणिज्य सचिव उपाध्याय भने नाका खुलाउन निरन्तर पहल भइरहेको दाबी गर्छन्। ‘सडक नै अवरुद्ध भएकाले दबाब दिन सकेनौं। सडक अवरोध पन्छाउने काम सकिनै लागेकाले तातोपानी नाका खुल्ने आधार बलियो बन्दै गएको छ,’ उनले भने। दुवै नाका खोल्न आग्रह गर्दै साताअघि परराष्ट्र सहसचिव झविन्द्र अर्याल ल्हासा पुगेका थिए। नाका खोल्नेबारे उनले सकारात्मक सन्देश ल्याउन नसकेपछि वाणिज्य मन्त्रालय तातेको स्रोतले बतायो। सहसचिव अर्यालसँगको भेटमा चिनियाँ अधिकारीले नाकाको विषयमा कुरै सुन्न चाहेनन्।
khabardabali
भिडियो हेर्न तल क्लिक गर्नु होस




0 comments
Write Down Your Responses