चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा खैलाबैला मचियो
काठमाडौं ।
भारतले नाकाबन्दी खोल्ने संकेत नदेखाएपछि नेपाल सरकारले चीनबाट बैकल्पिक इन्धनको आपुर्ति प्रक्रिया अघि बढाएको छ । एमाओवादीका नेताहरुको पहलमा आपुर्ति मन्त्रालयले चीनसँग इन्धन आपुर्तिका लागि आग्रह गरेपछि अव सरकारी तहमै चीनबाट इन्धन आउने पक्रिया अघी बढेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनबाट तत्काल प्राप्त हुने इन्धन रसुवागढी–केरुङ नाका हुँदै ल्याइने छ ।
टाइम्स अफ इण्डियाले नेपालमा चाडबाड चलिरहेको समयमा चीनले १००० टन इन्धन अनुदानस्वरुप आपुर्ति गर्न लागेको समाचार प्रकाशित गरेको छ । यो निर्णयसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य भएको भन्दै उक्त फिचरमा तराइ आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको उल्लेख छ । टाइम्स अफ इण्डियाले चीनबाट इन्धन ल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको पहलमा काम अघि बढिरहेको भनेको छ । परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्किएपछि नेपालले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेको भनिएको छ ।
नेपालका निजी कम्पनीले समेत चीनबाट इन्धन आयात गर्ने अनुमति पाएको विषयलाई पनि भारतीय मिडियाले हेडलाइन बनाएका छन् ।
गल्फ टाइम्सले समेत नेपालले चीनबाट इन्धन ल्याउन लागेको विषयलाई हेडलाइन समाचार बनाएको छ । चीनले नेपाललाई चाहिएको सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै गल्फ न्यूजले भारतसँगको एकलौटी निर्भरताले नेपाल चरम संकटमा परेको उल्लेख गरेको छ । मधेशका आन्दोलनकारीले भारतबाट आएका गाडी जलाएको समेत उल्लेख गरेको छ ।
इण्डियन एक्सप्रेसले ओली नेतृत्वको सरकारले चीनसँगको सीमा क्षेत्रमा रहेको अवरोध तोडेको र भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रसंघमा समेत उजुरी गरेको समाचार हेडलाइन बनाएको छ । नेपालमा भारतीय च्यानल नेपालमा बन्द गरिएको कुरा समेत समाचारमा उल्लेख गरेको छ ।
एनडीटिभीले मधेशी आन्दोलन कायम रहेको र भारतीय नाकाबन्दी चलिरहेको समयमा चीनले नेपाललाई इन्धन दिन लागेको लेखेको छ । नेपालले चीनबाट खाना पकाउने ग्यास ल्याउन विभिन्न एजेन्सीलाई परिचालन गरिरहेको समेत समाचारमा जनाएको छ । नेपाल सरकारले चीनबाट इन्धन ल्याउन नेपाली कम्पनीहरुलाई समेत अनुमति दिइसकेको कुरा पनि यसमा उल्लेख छ ।




0 comments
Write Down Your Responses