नेपाल यी हुन केपी ओली क्याबिनेटका ७ मन्त्री
जसमा २ जनाले उपप्रधानमन्त्री रुपमा सपथ लिए भने अन्य पाँच जनाले मन्त्रीका रुपमा लिएका छन् । उनीहरुलाई कुन मन्त्रालय दिने भन्ने विषयमा तोकिएको छैन । दलहरुबीचको सहमतिका आधारमा मन्त्रालय विभाजन गर्ने बताइएको छ ।
ओली क्याबिनेटका यी हुन ७ मन्त्री
राप्रपा नेपालका अध्यक्ष हुन कमल थापा । शाहीकालका गृहमन्त्री भएपछि खुबै आलोचित भएका उनी कुशल राजनीतिक खेलाडी मानिन्छन् ।
दोस्रो संविधानसभा निर्वाचनमा हिन्दु राज्य, संवैधानिक राजतन्त्रजस्ता मुद्धाहरु बोकेर चुनावमा होमिएका उनलाई जनताले पनि राम्रै साथ दिए । त्यसैले उनको पार्टीले दोस्रो संविधानसभामा २५ सिट हात पार्यो । यो सँगै उनी चौथो ठूलो राजनीतिक शक्तिका रुपमा उदाए ।
संविधान जारी गर्नुअघि निरन्तर हिन्दु राज्य र संवैधानिक राजतन्त्रको वकालत गरेका उनले अाफ्ना एजेण्डा सम्बोधन नभएपनि नयाँ संविधानका पक्षमा बृहत रुपमा देखिएको जनमतको सम्मान गर्दै नयाँ संविधानमा हस्ताक्षर गरे ।
नेपाली कांग्रेस प्रतिपक्षमा बसेपछि थापालाई ओली क्याबिनेटमा उपप्रधानमन्त्री रुपमा सपथ लिएका छन् । उनले परराष्ट्रमन्त्री सम्हाल्ने बताइएको छ । ओलीलाई प्रधानमन्त्री जिताउन उनको दलको महत्वपूर्ण भूमिका रहयो । कमल थापा हेटौडाबाट राजनीतिक गर्ने राजनीतिज्ञमा पर्छन । उनी यसअघि पटक पटक मन्त्री बनिसकेका छन् ।
२. विजय गच्छदार
कुनै समय नेपाली कांग्रेसका प्रभावशाली नेता थिए विजय गच्छदार । तिनै गच्छदार सोमबारको संसद बैठकमा आफ्ना सहकर्मी योद्धा सुशील कोइरालाको विपक्षमा खडा भए ।
कांग्रेसको एजेण्डासँग चित्त नबुझेपछि मधेश केन्दि्रत दल मधेशी जनअधिकार फोरममा लागे उनी । तर, त्यहाँ पनि विवाद उत्पन्न भएपछि फोरम टुक्रियो । उनले फोरम लोकतान्त्रिक बनाए । जसका अध्यक्ष विजय गच्छादर आफै बने । उनको दलले दोस्रो संविधानसभा निर्वाचनमा अन्य मधेशवादी दलको तुलनामा बढी सिट हासिल गर्यो ।
संसदमा १४ सिट भएका गच्छदार अहिले थारु आन्दोलनलाई नेतृत्व दिइरहेका छन् । उनले आइतबार ओलीलाई प्रधानमन्त्री चुन्नुपूर्व एमाले र एकीकृत माओवादीसँग ८ बुँदे सहमति गर्दै सरकारमा सामेल हुने निर्णय गरे । जसका कारण कुनै समयका सहयोद्धा सुशील कोइरालासँग प्रतिस्पर्धा गरिरहेका एमाले अध्यक्ष केपी ओलीलाई मतदान गरे ।
ओलीको नेतृत्वमा बनेको सरकारमा गच्छदार अहिले उपप्रधानमन्त्रीको रूपमा सपथ लिएका छन् । गच्छदारले उपप्रधानसहित भौतिक योजना मन्त्रीजस्तो प्रभावशाली मन्त्री पाउने सहमति भएको छ । उनले पटक-पटक सरकारमा सहभागी भएर अनुभव संगालिसकेका छन् ।
३. अग्नी खरेल
अग्नी खरेल एमालेभित्रका कानुनविद् राजनीतिज्ञमा पर्छन् । उनी एमालेको मनोनित हुने सभासदहरुको कोटाबाट सांसद बनेका हुन् । पछिल्लो समयमा वार्ता र उच्चस्तरीय छलफलमा समेत एमालेका तर्फबाट सहभागी हुन्छन उनी ।
ओली निकट नेताका रुपमा चिनिने काभ्रेका खरेल एमाले संसदीय दलका प्रमुख सचेतक समेत हुन् । ओली क्याबिनेटमा खरेल पहिलो चरणमै एमालेबाट मन्त्री पडकाउने सौभाग्यशाली बने । खरेल पहिलेपल्ट मन्त्री बनेका हुन् ।
४. सोमप्रसाद पाण्डे
पाल्पाका एमाले नेता हुन्, सोमप्रसाद पाण्डे । पाल्पाको मदन पोखरामा २००९ सालमा जन्मिएका पाण्डे कानुनका स्नातक हुन् ।
२०२७ सालबाट राजनीतिमा आएका उनी २०५१ र ०५६ सालमा सांसद चुनिएका थिए । केही समय वकालत र शिक्षण समेत गरेका पाण्डे २०६४ को संविधानसभा निर्वाचनमा भने पराजित भएका थिए । तर, २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उनले पाल्पाबाट सभासदमा चुनाव जिते ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालका सम्धी पाण्डे उनकै आर्शिवादमा मन्त्री बनेको बताइन्छ ।
५. सत्यनारायण मण्डल
एमालेले सोमबार पहिलो चरणमा बनाएका मन्त्रीहरुमा मधेशका राजनीतिज्ञ सत्यनारायण मण्डल पनि परेका छन् । मधेशका एक मधेश प्रदेशको विरुद्ध मधेशी अधिकारको वकालत गर्ने मण्डल एमाले स्थायी समिति सदस्य तथा एमालेको मधेश ब्यूरोका इन्चार्ज समेत हुन् ।
सप्तरी घर भएका मण्डल नेकपा एमालेको समानुपातिक कोटाबाट सभासद भएका हुन् । उनले एमालेको नवौं महाधिवेशनमा मधेशतर्फबाट ओली पक्षबाट केन्द्रीय सदस्यमा जितेका थिए । उनी एमालेका अध्यक्ष केपी ओली निकट नेता मानिन्छन् । अहिले ओली क्याबिनेटमा उनले मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् ।
६. हरिबोल गजुरेल
एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हुन्, हरिबोल गजुरेल । एकीकृत माओवादीभित्र प्रचण्डको वैचारिक धारका खम्बा मानिने गजुरेल एमाओवादीका कोषाध्यक्ष समेत हुन् ।
एमाओवादीभित्रका प्रभावशाली नेताहरुले दोस्रो संविधानसभामा भकाभक पराजित हुँदा पनि गजुरेलले सिन्धुली ३ बाट जितेका थिए ।
यसअघि माओवादीको नेतृत्वमा बनेका र माओवादी अरुको नेतृत्वका सहभागी हुँदा कुनै पनि सरकारमा मन्त्री नबनेका उनलाई ओली क्याबिनेटमा भने मन्त्री बन्ने सौभाग्य प्राप्त भएको छ । एमाअोवादीले नयाँ अनुहारलार्इ अवसर दिने नीति अन्तर्गत गजुरेललार्इ मन्त्री बनाएको हो ।
गजुरेलले कृषि मन्त्रालय सम्हाल्ने बताइए पनि उनलाई त्यसको कार्यभार तोकिएको छैन ।
७. रामकुमार सुब्बा
रामकुमार सुब्बा राप्रपा नेपालका संसदीय दलका नेता हुन् । उनी राप्रपाले दोस्रो संविधानसभामा जितेका २४ सिट सभानुनपातिकबाट संविधानसभा सदस्यमा मनोनित भएका हुन् ।
धनकुटाका रामकुमार पञ्चायतकालमा पनि विभिन्न राजनीतिक पदहरु सम्हालेका थिए ।




0 comments
Write Down Your Responses