मधेसी मोर्चाले ३ सय लिटर पेट्रोलियम बोकेको सवारीमा आगो लगायो
महोत्तरी, कात्तिक १३  । महोत्तरीको सोनमामा मधेसी मोर्चाका कार्यकर्ताले एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।मोटरसाइकलमा लोड गरी गौशाला बजारतर्फ ल्याउँदै गरेको अवस्थामा नम्बर स्पष्ट हुन नसकेका प्लाटिना मोटरसाइकलमा आगजनी गरिएका हुन् ।
रातिको समयमा सो मोटरसाइकलमा ३०० लिटर पेट्रोलियम पदार्थ भारतीय बजारबाट ल्याउँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले सोनमा बजारमा आगजनी गरेको स्थानीयवासी अमित यादवले जानकारी दिए।

मोटरसाइकलको आंशिक भाग जलेकाले नम्बर स्पष्ट हुन नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सवारी साधनमा आगजनी गर्ने कार्यमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए ।

त्यस्तै सर्लाहीको गौरीशङ्करमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले ट्र्याक्टरमा आगजनी गरेको छ । आज बिहान ३ बजे गौरीशङ्कर– ९ श्रीनगर र सागरनाथ जङ्गलको बीचमा रहेको स्थानमा मोर्चाका कार्यकर्ताले ज१त ६१८५ नंको ट्र्याक्टरमा आगजनी गरेको हो ।

सीमावर्ती भारतीय बजारबाट ल्याएर सर्लाहीको लालबन्दीतर्फ सो ट्र्याक्टरमा चारवटा ड्रममा डिजेल लैजाँदै गरेको अवस्थामा मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर आगजनी गरेको मोर्चाका कार्यकर्ता उपेन्द्रसिंह कुशवाहाले जानकारी दिनुभयो । आगजनीबाट ट्र्याक्टर आंशिक रुपमा जलेको हो ।

अनिश्चिकालीन आमहडतालको समयमा भारतीय बजारबाट पेट्रोलियम पदार्थको तस्करीमा वृद्धि भएको भन्दै त्यस्ता पेट्रोलियम पदार्थ नष्ट गरिएको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।

१९ वटा खसीबोका लुटियो

गौशाला । महोत्तरीको भारतीय सीमा नाकामा आज बिहान एक भारतीय व्यापारीका १९ वटा खसीबोका लुटिएको छ ।

भारतको सीतामढी जिल्लाको पुपरी बजारबाट खसीबोका लिएर आइरहेका भारतीय व्यापारीको १९ वटा खसीबोका अज्ञात समूहले जलेश्वर नगरपालिका–६ स्थित रातो नदीको बाँधमा लुटेका हुन् ।

ती व्यापारीले आफ्नो नाम बताउन चाहेनन् भने लुटिएका खसीबोका खोजी गरी दिन जलेश्वर उद्योग वाणिज्य सङ्घलाई आग्रह गरेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.