तातोपानी मितेरी पुलमा लाग्यो नारा- नेपाल चीन एकता जिन्दाबाद
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ पक्षसँग नाका खोलेर ब्यापारिक कारोबार सुचारु गर्न अनुरोध गरेको छ ।
तातोपानी नाका खोल्न सरकार उदासिन रहेको भन्दै मोर्चाले तातोपानी नाका स्थित मितेरीपुल पुगी चिनियाँ अधिकारी समक्ष यस्तो अनुरोध गरेको हो ।
नेपाली र चिनियाँ झण्डा बोकेर मितेरीपुल पुगेका स्थानीय जनता सम्मिलित मोर्चाको प्रतिनिधि मण्डललाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए । मोर्चाका तर्फबाट मित्रताको प्रतीक नेपालको राष्ट्रीय झन्डा चिनियाँ अधिकारीलाई उपहार दिएपछि चिनियाँ पक्षबाट पनि मोर्चाका अध्यक्षलाई चीनको राष्ट्रीय झन्डा उपहार दिइएको थियो ।
उक्त अवसरमा नेपाल चीन सम्बन्ध अमर रहोस् र नेपाल चीन एकता जिन्दाबाद जस्ता नारा लगाइएको थियो । मितेरी पुलको बिचमा यो कार्यक्रम हुँदा स्थानीय जनता उत्साहित भई ताली बजाएर स्वागत गरेका थिए ।
गत वर्ष जुरेमा गएको भिषण पहिरो र यस वर्ष बैशाख १२ र २९ गते गएको महाभूकम्पको कारण अरनिको राजमार्गमा ठुलो क्षति पुग्न गई यातायात अबरुद्ध भई तातोपानी भन्सार पूर्ण रुपमा बन्द भए पछि उक्त भन्सारबाट हुने चीनसँगको अरबौँको व्यापार शून्यमा झरेको छ ।
नेपाल सरकार नेपाल चीन नाका खुलाउन उदासीन रहेको स्थितिमा यही असोज ३ गतेदेखि भारतले एक पक्षीय रुपले नेपाल बिरुद्ध नाकाबन्दी गरेपछि ठुलो समस्या परेको हुँदा केही दिन यता सरकार माथि जनदबाब बढ्न गई नेपाल चीन नाकाबाट यातायात सुचारु गर्न पहिरो पन्छाउने काम सुरु गरे पनि त्यसमा अपेक्षित सक्रियता आउन नसकेका कारण यातायात राम्रोसंग सुचारु हुन सकेको छैन ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गरेको स्थलगत अध्ययनको प्रतिवेदन छिटै निर्माण तथा यतायातमन्त्री लाई बुझाउने जनाएको छ ।




0 comments
Write Down Your Responses