चरीलाई गोली हान्ने धादिङका राधे डन प्रहरी खोरमा
धादिङबेसी, २ कात्तिक । झण्डै एकवर्ष अगाडि डन दिनेश अधिकारी चरीमाथि गोली प्रहार गरेर फरार भएका धादिङका राधे डनले चिनिने राधाकृष्ण भण्डारीलाई आइतबार साँझ धादिङ प्रहरीले पक्राउ गरेको छ ।

धादिङका प्रहरी प्रमुख एसपी सविन प्रधानको नेतृत्वमा उनलाई धादिङबेसीस्थित होटल धादिङ भ्यूबाट पक्राउ गरिएको हो । गुण्डागर्दी, ज्यान मुद्दालगायतका मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका राधे नेपाली कांग्रेस धादिङका कार्यकर्ता समेत हुन् । दोहोरी साँझमा पुगेका उनले राति रक्सीले मातिएर होहल्ला गर्ने र बियरको बोतल फुटाएर आतंक मच्चाउने जस्ता गतिविधि गरेपछि एक स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीको फरार सूचिमा रहेका उनलाई धादिङमा निस्फक्री हिँडिरहँदा पनि यसअघि प्रहरीले पक्राउ गर्न सकेको थिएन । कांग्रेस नेतृत्वको सरकार परिवर्तन भएसँगै उनी पक्राउ परेका हुन् । प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीलाई गोली हानेको आरोपमा राधेलाई प्रहरीले खाेजी रहेको थियो । उनीमाथि महानगरीय प्रहरीमा उजुरी थियो । पक्राउ पछि उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले महानगरी प्रहरी परिसर काठमाडौं पठाएको धादिङका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.