एक महिना पछि बाबुरामले खोले पार्टी परित्यागको खाँटी रहस्य
नयाँ संविधान जारी हुने वित्तिकै एकाएक पार्टी परित्याग गरे पछि धेरै मान्छेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको यो कदम प्रति धेरैे आश्चर्यमा परेका थिए । असोज ३ गते नयाँ संविधान जारी भएपछि असोज ९ गते आफूसम्बद्ध रहँदै आएको पार्टी परित्याग गर्ने गरे पछि बाबुरामको कदमलाई धेरैले उक्साहट वा अन्य कुनै दृश्य–अदृश्य कुराको परिणाम भएको आशंका गरेका थिए ।
उनले त्यसो गर्नलाई महात्मा गान्धीले भारत स्वतन्त्र भइसकेपछि ‘भारतीय राष्ट्रिय कांग्रेसलाई विघटन गरिदिए हुन्छ’ भनेको, माओले चिनियाँ क्रान्तिको १५ वर्षपछि आफ्नै ‘मुख्यालयमा बम वर्षाऊ’ भनेको, चे ग्वेभाराले क्युवाको क्रान्तिको ६ वर्षपछि क्युवा छोडेर अफ्रिका र बोलिभियामा क्रान्ति गर्न हिँडेको घटनाले केही उत्प्रेरणा दिएको समेत उल्लेख गरेका छन् ।
गणतन्त्र विरोधी शक्तिहरूको ‘भिटो’
भट्टराईले संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार)लगायतको गठबन्धनबाट बनेको सरकारलाई गणतन्त्र विरोधी शक्तिहरूको ‘भिटो’को संज्ञा दिएका छन् । ‘संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार) लगायतको जुन अत्यन्त सिद्धान्तहीन, अवसरवादी गठबन्धन रकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ’, उनले लेखेका छन,‘ खासगरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीर अनिष्टको संकेतमात्र गरेको छ।’
ऐतिहासिक भौतिकवाद नयाँ शक्तिको आधार
लामो समय देखि नयाँ शक्ति निर्माणको ओकालत गरि रहेका बाबुरामले पार्टी परित्याग पछि यसलाई झन चर्को रुपमा उठाउन थालेका छन् । उनले नयाँ शक्तिको वैचारिक आधार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हुने उल्लेख गरेका छन् । ‘हिजोका शीतयुद्धकालीन आग्रह र पूर्वाग्रहबाट प्रभावित भएरभन्दा पनि ज्ञान र विज्ञानका पछिल्ला अनुसन्धान र आविष्कार, विश्व इतिहासका अनुभवहरू र नेपाली समाजको ठोस वर्ग–विश्लेषणका आधारमा उचित निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। प्रारम्भमा यतिचाहिँ भन्न सकिन्छ र भन्नैपर्छ कि माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरूद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली भौतिक र सामाजिक जगतलाई बुझ्ने र बदल्ने सबभन्दा वैज्ञानिक र सुसंगत प्रणाली हो’, बाबुरामले भनेका छन,‘ मूलत : त्यसैमा आधारित भएर र अन्य चिन्तनधाराका सकारात्मक पक्षहरूलाई समेत ग्रहण गरेर नयाँ वैकल्पिक राजनीतिक शक्तिले आफ्नो नीति, कार्यदिशा र कार्यक्रम तय गर्नेछ।’
भट्टराईले त्यही अनुरूप तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको जग निर्माण गर्दै त्यसमा टेकेर समुन्नत समाजवादमा पुग्ने रणनीतिक लक्ष्य हुने बताएका छन्। उनले त्यो माथिबाट लादिएको नभई स्वतह प्रष्फुटित हुने समेत दावी गरेका छन् ।
0 comments
Write Down Your Responses