भारतको सात बुँदे अडान कायमै, मोदीसंग के कुरा भयो थापाको ?
भारतले संविधान जारी भएपछि लगाएको नाकाबन्दी खुलाउने प्रयासमा भारत पुग्नुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको भारतीय समकक्षीसंगको भेटवार्ता फलदायी भएन । स्वदेश फर्कने क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्नुभएको छ ।
छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले सहज भएको नाकाबाट निर्यात बढाउने आश्वासन दिए पनि प्रमुख नाका रक्सौल सूचारु गर्ने बिषयमा कुराकानी नभएको भेटमा संलग्न एक अधिकारीले बताएका छन् ।
मोदीले अरु राजनीतिक समस्यालाई समाधान नगरी सम्बन्धको सबै आयाम फराकिलो हुन नसक्ने बताएपछि जवाफमा परराष्ट्रमन्त्री थापाले आन्तरिक समस्या मिलाउनको लागि सरकारले संवाद र समझदारी अघि बढाएको बताउनुभएको थियो ।
सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रञ्जित रे लगायत सहभागी थिए । थापाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भए पनि नाकाबन्दी खोल्ने विषयमा ठोस निर्णय सार्वजनिक भएको छैन ।
आइतबार भारतीय विदेशमन्त्री सुषमा स्वराजसंगको छलफलमा नेपालको नाकाबन्दी खुलाउने विषयमा भारतले कुनै चासो नदिएर मधेशवादीको माग पहिला सम्बोधन गर्नुपर्ने धारणा अभिव्यक्त भयो ।
मन्त्री थापाले भारतीय पक्षसंग जेजस्तो रुपमा वार्ता हुने र सकारात्मक पहल हुने अपेक्षा गरे पनि अन्ततः भारतीय रबैया पुरानै देखिएको छ । भारतीय विदेश सचिवले काठमाडौंमै भनेका कुरा मन्त्री थापासंग भनेको सन्दर्भले भारत तत्काल नाकाबन्दी खोल्ने पक्षमा नरहेको देखिन्छ ।
भेटवार्ताका क्रममा भएका कुराकानी र भारत सरकारले के सन्देश दियो भन्ने अहिले सार्वजनिक नभए पनि मन्त्री थापा काठमाडौं ओर्लेपछि सबै कुरा सार्वजनिक हुनेछ ।
स्मरणीय के छ भने मधेशवादीको माग अनुसार सरकारले संविधान संशोधन प्रस्ताव संसदमा लगिसके पनि आन्दोलन रोकिएको छैन र आन्दोलनलाई बहाना बनाएर भारतको नाकाबन्दी अरु कडा हुँदै गएको छ ।
भारतले संविधानमा सभासदहरुको हस्ताक्षर गर्नु केही समय अघि संविधान निर्माण प्रक्रियो रोकेर आफ्ना ७ वटा माग पूरा गर्न दवाब दिएको थियो । अंगिकृत नागरिकता हुनेले नेपालको राष्ट्रपति, प्रधानमन्त्री पद पाउनु पर्ने तथा तराइबाट राष्ट्रिय संसदमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने लगायतका माग पूरा नभएपछि भारतले नेपालमाथि नाकाबन्दी गर्दै आएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.