प्रचण्डको चेतावनी ‘भ्रष्टाचार गर्नुभयो भने बर्खास्त गर्दिन्छु’
काठमाण्डु, २ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका मन्त्रीहरुलाई लाजिम्पाटस्थित निवासमा बोलाएर छिटोछरितो र प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् ।

सोमबार बिहान उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीसहित पार्टीका आठैजना मन्त्रीलाई बोलाएर उनले राजनीतिक आस्थाका आधारमा भेदभाव र पूर्वाग्रह नराखी जनतालाई समान व्यवहार गर्न पनि निर्देशन दिए ।
‘कम्तिमा हामीले सम्हालेका मन्त्रालयमा भ्रष्टाचार र अपारदर्शी काम भएको सुन्नुनपरोस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले काठमाण्डु टुडेसँग भने, ‘जनताको काम छिटोछरितो र प्रभावकारी होस्, राजनीतिक आस्थाका आधारमा कसैमाथि भेदभाव नगर्नुस् ।’
पुनका अनुसार जुनसुकै आस्था र विचारका भए पनि राज्यका नजरमा सबै जनता बराबरी हुन् भन्ने मान्यता स्थापित गराउन प्रचण्डले भनेका थिए ।
यस्तै प्रचण्डले कार्यसम्पादनमा कमजोर र भ्रष्टाचारमा संलग्न रहेको पाइए तत्काल मन्त्रीबाट बर्खास्त गर्ने चेतावनीसमेत दिएका छन् ।
एकीृकत माओवादीले वर्तमान सरकारमा उपप्रधान र गृहसहित आठ मन्त्रालय पाएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.