कुख्यात अपराधी "डन" छोटा राजन इन्डोनेसियामा पक्राउ
भारतीय कुख्यात अपराधी छोटा राजन इन्डोनेसियाको बालीमा पक्राउ परेका छन् । इन्डोनेसियाली प्रहरी अधिकारीका अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो । अष्ट्रेलियाको सिन्डीबाट बाली आएलगत्तै उनलाई पक्राउ गरिएको बाली प्रहरीका प्रवक्ता हेरि वियान्टोले जानकारी दिए । ५५ वर्षीय राजनलाई भारतीय प्रहरीले दुई दशकदेखि खोजी गरिरहेको थियो । उनलाई पक्राउ गर्न सन् १९९५ मा इन्टरपोलमा नोटिस जारी गरिएको थियो । ‘हामीले उनलाई आइतबार एयरपोर्टबाटै पक्राउ गरेका हौं’, प्रवक्ताले भने,‘हामीलाई उक्त व्यक्तिले भारतमा १५ देखि २० हत्या गरेको जानकारी दिइएको थियो ।’ बाली प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोल र भारतीय प्रहरीसँग सहकार्य गरेको थियो । छोटा राजनलाई सम्भवत भारतीय प्रहरीको जिम्मा लगाइने ति प्रवक्ताले भनेका छन् । इन्टरपोलको वेवसाइटमा राजन भारतको मुम्बईमा जन्मिएको र हत्या, अपहरण र गैर कानुनी हतियार प्रयोगसहित विभिन्न अपराधमा संलग्न भएको आधारमा पक्राउ गर्न खोजिएको उल्लेख छ । वास्तविक नाम राजेन्द्र सदाशिव निकल्जे भएपनि उनी छोटा राजनको रुपमा कुख्यात थिए । उनी अर्कै परिचयसहित अष्ट्रेलियामा बस्ने गरेको इन्डोनेसियाको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses