राजेन्द्र महतोको फोनपछि बन्द फिर्ता लिने बुँदा नै गायब
असोज २६
काठमाडौं – दशैंलाई लक्षित गरेर मधेशका जिल्लाहरुमा विगत दुई महिनादेखि जारी आमहड्तालको कार्यक्रम लिन मधेशी मोर्चाले तयारी गरेपनि अन्तिम समयमा निर्णय फिर्ता लिएको छ ।
आन्दोलनलाई खकुलो पार्ने तयारीसहित आज मधेशी मोर्चाको बैठकले बन्द फिर्ता लिने र सीमा अवरोधलाई भने कायम राख्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा मोर्चाको एक घटक सद्भावना पार्टीले असन्तुष्टि जनाएपछि आमहड्तालको कार्यक्रम फिर्ता नलिने भएको छ ।
मधेशी मोर्चाका एक नेताका अनुसार मोर्चाको विज्ञप्तिमा अन्तिम समयसम्म कार्तिक ३ गतेदेखि ९ गतेसम्म बन्द फिर्ता लिने कुरा उल्लेख भए पनि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यसको विरोध गरेपछि आन्दोलनका कार्यक्रम यथावत राख्ने मधेशी मोर्चाले निर्णय गरेको हो ।
प्रधानमन्त्री निर्वाचनको विषयलाई लिएर मोर्चामा तीव्र असन्तुष्टि भएपछि मोर्चाले बैठक बोलाएको थियो । हिजोको बैठकमा सद्भावना पार्टीले बहिस्कार गरेपनि आज तमलोपाको कार्यालयमा भएको बैठकमा भने सद्भावना पार्टीको तर्फबाट लक्ष्मणलाल कर्ण सहभागी थिए ।
मोर्चाले बन्द फिर्ता लिने निर्णय गरेपछि कर्णले विज्ञप्ति पढेर फोनबाट राजेन्द्र महतोलाई सुनाएका थिए । उताबाट महतोले उक्त निर्णय कार्यान्वयन भए बैठक बहिस्कार गर्न कर्णलाई निर्देशन दिएका थिए ।
अन्ततः महतोको दबाब पछि पत्रकार सम्मेलनअघि बन्द फिर्ता लिने बुँदा नै हटाइएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.