रुँदा पनि किन छुट पाएनन् राजेन्द्र महतोले ?
काठमाडाैं-‘ए बाबा, सुशीलले कुनै हालतमा जित्दैनन्, मेरा सांसदहरुले राजीनामा दिएका छन् । हामीलाई छाडिदिनुस्, लानैपर्ने भए उपेन्द्र र महन्थलाई भोट हाल्न लानुस् ।’ सधैंको दाताले सुशीलका पक्षमा मतदानका निम्ति चर्को दबाब दिएपछि राजेन्द्र महतो यसरी गिडगिडाए, ‘उसो भए राजीनामा दिएका लक्ष्मणलाल कर्ण, विमल केडिया र मेरी श्रीमती शैलकुमारी महतोलाई लानुस् तर राजीनामा दिन बाँकी दुई जनालाई छाडिदिनुस् ।
विचराले यसो भन्दा पनि सुख पाएनन् । रुखो स्वरमा भनियो, ‘हैन हामी कमिटेड भइसकेका छौं, तपाईंहरु जानैपर्छ ।’
यसरी मधेशी दल आफ्नो मुठ्ठीमा भएको ब्यवहोरा दक्षिणले प्रमाणित गराइ छाड्यो । तमलोपा महामन्त्री जितेन्द्र सोनल पनि आइतबार विहान ११ बजेसम्म जनआस्थालाई भन्दै थिए, ‘हेर्दै जानुहोला, हामी तटस्थ बस्छौं, नजित्ने मान्छेलाई कसले भोट हाल्छ ?’ तर, उनको अडान तुहिन आधा घण्टा पनि लागेन ।
सर्वेन्द्रनाथ शुक्ला त झन सुरुदेखि नै पावरमा जानुपर्छ भन्ने सोचाइका मानिस, उनको पनि दाल गलेन । दुई साताअघि बिहीबारदेखि राजधानीमा डेरा जमाएका र बीचमा एक खेप दिल्ली पुगेर फर्किएका ‘र’का पूर्व उपप्रमुख एबी माथुर हिजोसम्म पनि यतै थिए ।
मधेशी दल उतैका गोटी हुन भन्ने छाप यस पटक राम्रैसँग पुष्टि भयो । ती सबै दललाई चाहेअनुरुप नै सुशील क्याम्पमा हुलियो । उपेन्द्र यादवले नमान्लान कि भन्ने डर थियो तर सबभन्दा पहिला सुशीलका पक्षमा मतदान गर्न उनै तयार भए । संसदबाट बिच्किएर हिडेपछि सधैंका लागि बाहिर परिन्छ कि भन्ने आशंका रहेछ, त्यसैले उनलाई सेफ ल्याण्डिङका लागि यो एउटा राम्रै बाहाना बन्न पुग्यो ।
विजय गच्छदारले बरु सत्ताकै निम्ति भएपनि अडान लिए तर राजेन्द्र महतोलाई दायाँ बायाँ ढिम्कनै दिइएन ।
उता सुशील कोइरालासँग उनी सभापति भएदेखि नै भारतको सम्बन्ध राम्रो बन्न सकेन । मधेश आन्दोलनताका वीरगन्जस्थित भारतीय महावाणिज्यदूतले अवाञ्छित हर्कत देखाएपछि उनलाई देश निकाला गर्न तयार पारिएको चार दलीय प्रस्तावमा सुशीलले एक नम्बरमै हस्ताक्षर गरेका थिए । उनको पालामा भारतसँग थाती रहेका फास्ट ट्रयाक, सुरक्षा मामिला, जलविद्युतलगायतका कुनै ठूला सन्धी सम्झौतामा हस्ताक्षर हुन सकेन । यसर्थ सुविचारित रुपमै मधेशीको काँधमा राखेर सुशीलतिर तोप पडकाउने काम सम्पन्न भयो ।
तत्कालमा निम्ति हेर्दा उनलाई सघाएजस्तो तर कालान्तरमा यसको फाइदा देउवालाई पुग्ने खालको । तुष ब्यक्ति ब्यक्तिमा रहन्छ, देशको देशसँग होइन । रोक्न भग्मग्दुर उपाय गर्दापनि पार नलागेपछि अब भारतले नेपालस्थित आफ्नो ब्यूरोक्रेसीमाथि दोष थोपरेर ओली सरकारसँग सम्बन्ध सुधार्न अधिकतम प्रयत्न गर्नेछ, यसको सुरुवात भइसकेको छ ।
सुशीललाई भारतले सिध्यायो र भावी सभापतिमा देउवाको निम्ति मार्गप्रशस्त गरिदियो । सुशीलको अवसानमा भारतले अब आँशु बगाउने छैन । लाजको पर्दा फालेर ओली समक्ष प्रस्तुत भएजस्तै अब उ निर्लज्जतापूर्वक देउवासँग हातेमालो गर्न अग्रसर हुनेछ ।
२६ वर्षको अन्तरालमा पहिलोचोटी दुई देशबीचको सम्बन्ध पुनरावलोकन गर्न अनेकन कार्यद लबनेका छन्, तिनीहरुमार्फत नयाँ चरणको चलखेल तीब्र हुनेछ । मधेशीका रहलपहल चासोलाई सम्बोधन गर्न सके एमालेले तराईबाट कांग्रेसको आधार खोस्न सक्छ । तर, नेपालमा उर्लिएको राष्ट्रवादको लहर तेलको अवरोध खुलेपछि र मोदीले मीठा बचन बोल्न थालेपछि पानी खन्याएको फिलिङगो झैं सेलाउँछ या जागृत भइरहन्छ यसै भन्न सकिन्न ।
नेपाली कांग्रेसले पनि यसबीच सत्ताको साझेदारी आझै अस्वीकार गरेका कारण भागबण्डामा नआउने निश्चित छ । तर, मिलिजुली निर्मित संविधान कार्यन्वयन तहमा कस्तो सहयात्रा हुने हो एमाले–एमाओवादीको प्रस्तुतीले धेरै कुरा निक्र्यौल गर्नेछ । अाजकाे जनअास्थाबाट साभार
0 comments
Write Down Your Responses