उपेन्द्र यादव भन्छन्, ‘हामीलाई बदनाम गर्न तेल लुकाइयो’
काठमाडौं, २७ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही सञ्चारमाध्यमरूले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनविरुद्ध ज्यान फालेर लागेको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले काठमाडौंबाट प्रसारण हुने नाम चलेको टेलिभिजनले मधेसी मोर्चाको आन्दोलन फिर्ता भयो भनेर गलत समाचार दिएको भन्दै आपत्ति जनाउनुभयो । ‘काठमाडौंबाट प्रसारण हुने एउटा टेलिभिजनले हाम्रो आन्दोलनका विरुद्ध ठीक उल्टो समाचार प्रसारण गरेको छ’, उहाँले भन्नुभयो, ‘जारी रहेको मधेसी मोर्चाका आमहड्ताल र नाकाबन्दी फिर्ता भयो भनेर गलत समाचार प्रसारण गरेको छ । यसबाट उहाँहरूलाई के फाइदा भो ?’
उहाँले आफूहरूका विरुद्ध समाचार सम्प्रेषण गर्नुभन्दा पहिला एक पटक सत्यतथ्य बुझेर मात्रै समाचार सम्प्रेसषण गर्न आग्रह गर्नुभयो ।
कान्तिपुर टेभिजनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आमहड्ताल र नाकाबन्दीको कार्यक्रम फिर्ता लिएको भनेर समाचार प्रसारित गरेपछि संघीय समाजवादी फोरमका अध्यक्ष यादवले आपत्ति प्रकट गर्नुभएको हो ।
अध्यक्ष यादवले आफूहरूको आन्दोलन भारतीयको उक्साहटमा नगरिएको दाबी गर्नुभयो । उहाँले नेपालीहरूको समर्थन र आडभरोसामा मधेसीमा नाकाबन्दी भएको बताउनुभयो ।
तपाईहरूको नाकाबन्दीले मुलुकभरि पेट्रोलियम पदार्थको समस्या भएको छ भन्ने जिज्ञासामा अध्यक्ष यादवले भन्नुभयो, ‘हाम्रा कारण होइन तेलको समस्या भएको होइन । राजधानी उपत्यकालाई पुग्ने प्रसस्त तेल लुकाएर राखिएको छ । तेल लुकाएर मधेसी मोर्चाका कारण समस्या भएको भनेर हामीलाई आरोप लगाइएको छ ।’
उहाँले आफूहरूको नाकाबन्दीले राजधानीबासीले तेल नपाएको आरोपको खण्डन गर्नुभयो ।
राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषयमा मधेसी मोर्चाभित्र छलफल गरेर टुङ्गो लगाइने अध्यक्ष यादवले बताउनुभयो ।
उहाँले आगामी नयाँ राष्ट्रपति निर्वाचनमा मधेसी मोर्चा सहभागी हुने संकेत पनि गर्नुभएको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.