कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक, उपल्लो मुस्ताङमा अहिले पनि प्रयोग हुन्छ चीनको पेट्रोल
वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले जानकारी दिए ।
“तत्काल नाका सञ्चालनका लागि उहाँहरु (तिब्बती अधिकारी) इच्छुक देखिनुभयो” सीमा प्रशासन कार्यालय प्रमुख ढकालले भने, “त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ’ नेपालका परराष्ट्र सचिव र चीनका रातदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो ।
सन् २०१२ मा पनि यस्तै सम्झौता भए पनि नाका सञ्चालन हुन सकेको छैन । कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ ।
उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताए ।
अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो । कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो ।
नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।




0 comments
Write Down Your Responses