गोलरक्षक रितेश थापाको बयान, ‘म्याच फिक्सिङको पैसाले विवाह गरेँ’
काठमाडौं- सधैंभरि फूर्तिलो र हँसिलो अनुहारमा देखिने नेपाल राष्ट्रिय फुटबल टिमका गोलरक्षक रितेश थापा शुक्रबार उदास र खिन्न मुद्रामा देखिन्थे । महानगरीय प्रहरी अपराध अनुसन्धानका प्रमुख एसएसपी सर्वेन्द्र खनालसँग कुरा गर्दा आफूले जिन्दगीमा ठूलो गल्ती गरेको उनले स्वीकारे ।

उनी भन्छन्, ‘यस्तो गल्ती त कहिले होलाजस्तो पनि सोचेको थिएनँ । खेल मिलेमतो गरेपछिको पैसा पठाइदिन्थे, लिएँ, कहाँबाट, कसरी आयो भन्नेसमेत सोधखोज गरिनँ,’ उनी भन्छन्, ‘जवानी पैसा चाहिन्थ्यो, जति आउँथ्यो खर्चन्थे ।’ रकम थोरै आउने गरेको तर नियमित आउने गरेको उनले बताए ।

म्याच फिक्सिङ प्रकरणमा पक्रिएको भन्ने आफूले निकैपछि मात्र थाहा भएको भन्दै उनले कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । जुनसुकै खेलमा प्रशिक्षकबीच मिलेमतो हुने गरेको तर आफूलाई त्यस विषयमा खासै जानकारी नभएको उनले दाबी गरे ।

सिंगापुर लगायतका मुलुकमा म्याच फिक्सिङ हुन्छ भन्ने सुनेको भन्दै उनले आफू यही प्रकरणमा परेको सुन्दा छाँगाबाट खसेको अनुभव भएको उनले बताए । पैसा त्यत्तिकै कसले पठायो भनेर प्रश्न गर्दा उनले जवानीमा पैसा चाहिने भएकाले त्यतापट्टि आफूले चासोसमेत नगरेको दाबी गरे । बुधबार फुटबल खेलमा म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडी पक्राउ परेका छन् ।

थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा महानगरीय परिसर काठमाडौंले राज्यविरुद्धको अपराध गरेको आरोपमा मुद्दा चलाएको छ । पक्राउ परेका सबैलाई परिसरकै हिरासतमा राखिएको छ ।

२००९ मा भएको साफ च्याम्पियनसिपमा पराजित भएको करिब ६ महिनापछि अचानक अपरिचित व्यक्तिबाट फोन आएको भन्दै रितेशले सिधै पैसा पठाइदिने कुरा गरेको बताए । ‘म पनि खुसी भएँ, किन पैसा पठाउँदै हुनुहुन्छ ? केका लागि पनि भनेर सोधिनँ ।

उसले (फोन गर्ने मान्छे) मनी ट्रान्सफरमा पैसा पठाइदिन्छु भने, मैले आफूलाई सजिलोका लागि बैंकमा काम गर्ने भाइको खातामा पठाइदिन भने, उसले त्यहीं पठाइदियो,’ रितेशले भने, ‘अहिलेसम्म पनि मलाई थाहा छैन कसले फोन गरेको हो भनेर ।’ खातामा करिब ३ हजार डलर पठाइदिएपछि दामासायीले अन्य साथीलाई समेत बाँडेको उनले बताए । ‘मैले त्यो पैसाको सदुपयोग नै गरेँ, विवाह गरेँ, वास्तवमै यसरी पठाएको रहेछ भन्ने थाहा पाएको भए त लिने थिएनँ,’ उनले भने, ‘मेरो इज्जत आज कहाँ पुग्यो, समाजले मलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो, पहिले आफैंप्रति गौरव लाग्थ्यो, अहिले घृणा लागेर आउँछ, अन्जानमा फसेँ ।’ अाजको कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.