लोकमानको राष्ट्रपति बन्ने इच्छा
शनिबार अपराह्न ३ बजेको आसपास । भैंसेपाटीमा दलबलसहितको एउटा गाडी घड्याप्प रोकिन्छ । त्यसबाट सेनामेनासहित एकजना ज्यानदार मान्छे ओर्लन्छन् र स्फुर्तीसाथ लमक–लमक गर्दै माथि उक्लिन्छन् । भेट्न गएको मान्छे अगाडि पर्नासाथ धाप मार्छन् र भन्छन्, ‘वेल डन म्यान!’ (ठीक गर्नुभयो !)
आजको जनआस्था साप्ताहिकमा खबर छ – पहिचान र सामथ्र्यसहितको आठ प्रदेशमा सहमति जुटाउँदै चार प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौताविरुद्ध ‘नटवरलाल’ अमरेशकुमार सिंहले सार्वजनिक अभिव्यक्तिमात्र दिएनन्, फरक मत पनि दर्ज गरे । यसबाट कति मानिस खुसी भए, कतिले ‘पागलपन’ को संज्ञा दिए । यीमध्ये भैंसेपाटीस्थित अमरेशको घरमै पुग्ने ज्यानदार मानिसको हो, लोकमान कार्की । राज्यले संवैधानिक आयोगको प्रमुखका रुपमा जिम्मेवारी दिएको व्यक्तिले राष्ट्रिय स्वार्थका विषयमा कस्तो भूमिका निभाउनुपर्छ ? राजाको हुकुमप्रमांगीदेखि गणतन्त्रको स्वादसम्म चाख्ने ती ज्यानदारलाई भनिरहनुपर्दैन, त्यो पदमा बसेकाले कस्तो भूमिका निभाउन मिल्छ, कस्तो मिल्दैन ? अमरेशले १६ बुँदेको विरोध गरेकोप्रति धाप मार्न मिल्ने व्यक्ति हुन् उनी ? तर, खुशीसाथ भैंसेपाटी पुगी–पुगी धाप मारिदिए । भने, ‘गो अ हेड !’ अर्थात, ‘अझै अगाडि बढ्नुस् ।’
‘भारत र राष्ट्रपतिको सहमतिबिना १६ बुँदे कसरी लागु हुँदोरहेछ ? हामी पनि हेरौंला..’ भन्दै लोकमान हिजो–आज साँझ परेपछि पड्किन थालेका छन् । कारण रहेछ, दुइटा । एउटा हो, ०६२/६३ को जनआन्दोलनपछि संवैधानिक अंगका अधिकारीको पुनर्नियुक्ति गरिएझैं, नयाँ संविधान जारी भएपछि आफूहरु पुनः नयाँ प्रक्रियाबाट नियुक्त हुनुपर्ने कुराको त्रास । यसबीच, लोकमानले गर्न हुने भन्दा नहुने काम बढी गरे । त्यहि कुरा उनको पुनर्नियुक्तिका लागि गलपासो बन्ने खतरा छ । अर्को हो, देशमा जति धेरै अस्थिरता कायम रह्यो, संक्रमणकाल लम्बियो, उति उति नै लोकमानजस्ता धुन्धकारीले अनेकन रमिता देखाउन पाउँछन् । संविधान बन्यो र देश सिस्टममा चल्न थाल्यो भने पाखा लगाउनुपर्ने खतरामा पर्छ, उनीहरु ।
मदिराले झुम भएपछि लोकमान आजकाल एउटा असम्भव लालसा व्यक्त गर्छन् – राष्ट्रपति र प्रधानमन्त्री बन्ने । अहिलेको १६ बुँदेप्रति राष्ट्रपतिको असहमतीमात्र हैन, त्यहीअनुसार मुलुक चल्दा उनले सेनाको सहयोगमा कार्यकारिणीमाथि हस्तक्षेप गर्ने र आफ्नो प्रत्यक्ष शासन गर्दाको अवस्थामा लोकमानले प्रधानमन्त्री बन्ने सपना बुनेका रहेछन् । वा, त्यही मेसोमा उस्तैपरे राष्ट्रपति नै पड्काउने सपना आँखा नचिम्लिकनै देख्न थालिसकेका छन् ।


0 comments

Write Down Your Responses

Powered by Blogger.