नयाँ ट्याक्सी खरिद गर्नुहुन्छ ? मन्त्रालयले दर्ता खोल्यो
काठमाण्डु, ११ असार- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ वर्षपछि नयाँ ट्याक्सी दर्ता खुल्ला गर्ने निर्णय गरेको छ ।

वि.सं २०५७ मा सात हजार ५०० ट्याक्सी रहेका बेला मन्त्रालयले नयाँ दर्तामा रोक लगाएको थियो । रोक लगाएपछि १५ वर्षको समयमा एक हजार ८५० ट्याक्सी घटेको मन्त्रालयका यातायात शाखा प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर नवीनकुमार पोख्रेलले जानकारी दिए । हाल उपत्यकामा पाँच हजार ६५० ट्याक्सी मात्र सञ्चालनमा छन् ।

‘घटेका ट्याक्सीको सङ्ख्या पूर्ति हुनेगरी मन्त्री विमलेन्द्र निधिको गत फागुन १७ गतेको निर्णयअनुसार यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलको प्रतिवेदनका आधारमा ट्याक्सी दर्ता गर्न मन्त्रालयले निर्देशन दिएको हो, यातायात शाखा प्रमुख पोख्रेलले भने ।

मन्त्रालयको जेठ २८ गतेको निर्णयअनुसार ट्याक्सीलाई तीन वर्गमा विभाजन गरिने भएको छ । यसअनुसार साधारण वर्गको ट्याक्सीमा ८०० क्युविक सेन्टिमिटर इन्जिनको क्षमताभन्दा माथिको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

वातानुकूलित तथा एक हजार २०० क्युविक सेन्टिमिटरभन्दा माथि इन्जिन क्षमता भएकालाई ‘डिलक्स’ वर्गको ट्याक्सीमा वर्गीकरण गरिएको छ । त्यसैगरी, वातानुकूलित सुविधासहित इन्जिनको क्षमता एक हजार ३०० भन्दा माथिकालाई ‘सुपर डिलक्स’ ट्याक्सीको मान्यता दिइने मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर पोख्रेलले जानकारी दिए । ‘डिलक्स’ ट्याक्सीलाई २० प्रतिशत र ‘सुपर डिलक्स’लाई ५० प्रतिशतसम्म अहिले कायम रहेको भाडामा बढाएर लिन सक्ने गरी मन्त्रालयले भाडा कायम गरेको छ ।

उपत्यकामा हाल सञ्चालित साधारण वर्गको ट्याक्सीको स्तरमा नघट्ने गरी पुराना एक हजार ८५० का स्थानमा नयाँ दर्ता गर्न लागिएको हो । बीस वर्ष पुराना ट्याक्सीका स्थानमा नयाँ ट्याक्सी दर्ता गर्न मन्त्रालयले २०७२ मङ्सिर मसान्तसम्मको समय तोकेको छ । अबदेखि बीस वर्ष पुग्नु तीन महिना अगावै पुराना ट्याक्सीलाई पत्रु गरी नयाँ सङ्ख्यामा नयाँ साधारण ट्याक्सी दर्ता गर्ने व्यवस्थालाई निरन्तरता दिन लागिएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.