मारमा मोहन वैद्य, कोठाभाडा तिर्न छोरीको शरण
संविधानसभाभित्रका प्रमुख ४ दलबीच संविधान निर्माणका लागि १६ बुँदे सहमति भएसँगै उनीमाथि यसरी पार्टीभित्रैबाट समेत संकट थपिएको हो । १६ बुँदेसँगै एमाओवादीसित अन्तिम चरणमा पुगेको एकता प्रक्रिया रोकियो । वैद्य आफैले पत्रकार सम्मेलन गरेर पार्टी एकता प्रक्रिया रोकिएको र तत्काल कार्यगत एकतासमेतको सम्भावना नरहेको घोषणा गरे । लगत्तै, आफू नेतृत्वको ३३ दलीय मोर्चाको बैठक बोलाए, त्यहाँ ७ दलसम्म पनि सहभागी भएनन् । अधिकांश दलले आफूहरूलाई अलपत्र पारेर वैद्य एक्लै प्रचण्डसँग मिल्न गएको भन्दै पुनः गठबन्धनमा नबस्ने भनी छुट्टै गठबन्धन बनाए । यही अवस्थामा स्वतन्त्र पहलकदमी लिन तथा प्रभावकारीढंगले अघि बढ्ने योजनासमेत बनाउन नसकेको भन्दै पार्टीभित्रैबाट अध्यक्ष वैद्यको आलोचना हुन थालेको छ ।
मोहन वैद्यको कामबाट असन्तुष्ट नेताहरूको बैठक शनिवार ढुंगाअड्डास्थित हितमान शाक्यको घरमा बसेको स्रोतको दाबी छ । स्रोतले दिएको जानकारीअनुसार त्यहाँ पार्टीको कार्यदिशा, कार्यनीति र कार्यक्रमलाई वैद्यले खोपीमा देउता सजाए जसरी राख्ने काम मात्रै भएको भन्दै आक्रोश व्यक्त गरिएको थियो । हितमान शाक्य, पम्फा भुसाल, देव गुरुङसहित ७ जना स्थायी समिति सदस्य सहभागी बैठकमा वैद्य इमानदार नेता भए पनि संगठनात्मक र राजनीतिक पहलकदमी लिन नसकेकोमा आलोचना गरिएको थियो । महासचिव रामबहादुर थापा बादलको भने कुनै आलोचना नभएको सो बैठक बादलकै सल्लाहमा भएको हुनसक्ने वैद्य पक्षले आशंका गरेको छ । एमाओवादीसित एकता भएपछि मन्त्री भइएला भनेर खुट्टा उचाली बसेकाहरूले अहिले नेतृत्वविरुद्ध अफवाह फैलाइरहेको वैद्यनिकट एक नेताले बताए ।
उता, पोलिटब्युरो सदस्य महेश्वर दाहालले पार्टीनिकट झिल्को अनलाइनमा आइतबार लेखेर मोहन वैद्यले पार्टीको दस्तावेजलाई कार्यान्वयनमा लानुको साटो संसद्वादी दलको पुच्छर बन्न पुगेको आशय व्यक्त गरेका छन् । दाहालले केही समयअघि नयाँ पत्रिका दैनिकले आयोजना गरेको राजनीतिक दल र कलाकारको फुटबल खेलमा वैद्य सहभागी हुनु पार्टी नीतिविपरित हुने भन्दै नेतृत्व अकर्मण्यतामा फस्ने काम भएकोमा आपत्ति जनाएका थिए ।
यसैबीच, मोहन वैद्यलाई कोठा भाडा तिर्न र खान लाउन नै समस्या भएपछि बिहे गरेर गएकी कान्छी छोरीको भर पर्नुपरेको छ । छोरी सिर्जनाको बिहे एक वर्षअघि एमाओवादीमा केन्द्रीय सदस्य रहेका केशव नेपालका छोरासित भएको थियो । बिहेलगत्तै दुवै अस्ट्रेलिया गएका छन् । सिर्जनाले अहिले त्यहाँ आफूले कमाएर पढ्दै खर्च बचाएर बुबालाई पठाउने गरेकी छन् ।जनआस्था साप्ताहिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses