आजदेखि विदेशमा कामदार नपठाउने घोषणा, म्यानपावर कार्यालयहरु बन्द
काठमाडौँ, २३ असार । वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि विदेशमा कामदार पठाउन बन्द गर्ने घोषणा गरेको छ ।
संघका सचिव राजेन्द्र भण्डारीका अनुसार अनिश्चितकालका लागि यो निर्णय गरिएको हो । निःशुल्क कामदार पठाउने विषयमा श्रम मन्त्री र व्यवसायीबीच विवाद बढेपछि संघले यो निर्णय गरेको हो ।
‘आजबाट सबै म्यानपावर कार्यालय बन्द भइसक्यो, व्यवसायीहरुसँग परामर्श नगरी हिजोको आजै फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागू हुन सक्दैन । त्यसैले हामीले कामदार पठाउन बन्द गरेका हौँ ।’, भण्डारीले भने, ‘हामीले पहिल्यैदेखि न्यूनतम शुल्कमा कामदार पठाउने भन्दै आएका हौँ । तर, नेपाली कामदारको सट्टा बंगलादेशी कामदारलाई बाटो खोल्न मन्त्रीको इच्छामा ठूलो रकमको रकमको चलखेल भएको छ ।’
संघका सचिव भण्डारीका अनुसार, फ्रि भिसा र फ्रि टिकटमा कामदार लैजानुपर्ने श्रम मन्त्रालयको निर्णयपछि कतार र मलेसियाले बंगलादेशी कामदार लिने निर्णय गरेका छन् । जबकि ती देशमा यसअघि बंगलादेशी कामदार प्रतिबन्धित थिए ।
नेपाल सरकारले हचुवाको भरमा निर्णय गरेका कारण लाखौँ नेपाली कामदारले वैदेशिक रोजगारीको अवसर गुमाउनुपर्ने अवस्था सिर्जना भएको व्यवसायीहरु बताउँछन् ।
नेपालबाट दैनिक २ हजार कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । संघले आज पत्रकार सम्मेलनमार्फत आफ्ना विभिन्न माग सार्वजनिक गर्दैछ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.