आइजीपीपुत्रमाथि हत्याको अभियोग, जाहेरी लिन प्रहरीकै आनाकानी
काठमाडौँ, २३ असार ।
नेपाल प्रहरी प्रमुख अर्थात् आइजिपी उपेन्द्रकान्त अर्यालकै छोरा आयुषविरुद्ध पोखरामा हत्या अभियोगको उजुरी परेको छ । तर प्रहरीले आफ्ना आइजीको छोराविरुद्ध उजुरी लिन मानेको छैन ।
किटानी जाहेरी, त्यो पनि प्रहरी महानिरीक्षक अर्थात् आइजीपी उपेन्द्रकान्त अर्यालकै छोराका विरुद्ध । यस्तो भएपछि प्रहरी नतर्सिने कुरा भएन । उजुरी लिएर जाने पनि सानातिना मानिस हैनन्, स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख ।
सहपाठी युवतीको मामिलामा महानिरीक्षकपुत्र आयुष र स्वास्थ्यका सहसचिव डा.गरिबदास ठाकुरपुत्र अनिमेषबीच विवाद हुँदा अनिमेष योजनाबद्ध रुपमा मारिएको भनी सहसचिव ठाकुर आफैँले दिन खोजेको किटानी जाहेरी कास्की प्रहरीले लिएको छैन ।
तर, ठाकुर परिवार अझै दावी गर्छ, अनिमेषको आत्महत्या वा भवितव्य दुबै होइन । उता, प्रहरी दावी छ, अत्यधिक मदिरा सेवनका कारण उनी अनियन्त्रित हुँदा तीन तलाबाट खसेर मरे । अनिमेष र आयुष दुबै मणिपाल कलेजमा चिकित्साशास्त्रका प्रशिक्षार्थी (इन्टर्न) हुन् । यतिमात्र होइन, अनिमेष महोत्तरी, ढिरापुरका र आयुष छिमेकी जिल्ला सिराहा, रामपुर– ५ का मूलवासी । अर्को समानताले यो समस्या आयो, दुबैको निकट सहपाठी युवतीललितपुर, जावलाखेलकी प्रतीक्षा प्रधान ।
प्रहरीले पनि स्वीकारेको छ पहिला प्रतीक्षा र अनिमेषबीच निकट सम्बन्ध थियो । केही समययता आएर प्रतीक्षाको मन बदलियो । उनले अनिमेषलाई मन पराउन छाडिन् । अनिमेष र आयुष कलेजको होस्टलमा बस्थे । प्रतीक्षाचाहिँ नजिकै डेरा लिएर बस्थिन्, सेक्टर २, घर नं. ४६ मा । शनिबार साँझ परेदेखि अनिमेष र प्रतीक्षाबीच मोबाइलमा लफडा सुरु भयो । सुरुमा अनिमेषले एसएमएस लेखे, ‘आजदेखि तेरो र मेरो ब्रेकअप हुन्छ ।’
प्रतीक्षाले जवाफ दिइन्, ‘ओके, इट्स नाइस !’ प्रतीक्षाले ‘ब्रेकअप’ को कुरा सुन्नेबित्तिकै आफूलाई माया गर्लिन् भन्ठानेका अनिमेषले उल्टो घृणा पाएको महसूस गरेपछि मापसे गर्न थाले । मापसेका क्रममा पनि उनीहरुबीच एसएमएसमै कुराकानी भइरहेको थियो । तर, एकाएक अनिमेष कोठाबाट निस्किएर प्रतीक्षाकहाँ पुगे । केटी बस्ने कोठामा रात परेपछि केटा जाने कुरा सामान्यतया राम्रो मानिँदैन ।
यस्तैयस्तै प्रसंग चलिरहँदा अनिमेष तीन तलामाथिबाट भुइँमा बजारिए, लक्ष्मी बास्तोलाको घर नजिकै । उनी लडेको देख्ने पहिलो दर्शी हुन्, किराना पसले कान्ती शाही । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख (डिआइजी) पंकज श्रेष्ठका अनुसार, त्यो घरको छतको रेलिङ होचो थियो । मदिराले होस गुम भएका उनी प्रतीक्षालाई घुक्र्याउँदा घुक्र्याउँदै रेलिङबाट भुइँमा झरे ।
डिआइजी श्रेष्ठ भन्छन्, ‘आयुषको नाम मुछ्दा कुरा चर्काउन सजिलो हुन्छ भनेर मात्र उनीहरुले यस्तो बखेडा झिकेका हुन्, वास्तविकता त्यस्तो हुँदै होइन ।’ अहिले महोत्तरीमा छोराको काजक्रिया गर्दै रहेका डा.गरिबनाथ योजनाबद्ध रुपमा खसालिएको दावी गर्छन् । उनको तर्क छ, ‘हैन भने, प्रहरी किन किटानी जाहेरी लिँदैन ?’ डिआइजी श्रेष्ठले घटनाको छानबिन भइरहेको बताए । तर, ठाकुर परिवारले दाबी गरेजस्तो महानिरीक्षकपुत्रको कुनै संलग्नता रहेको देखिन्न । –जनआस्था साप्ताहिकबाट



0 comments

Write Down Your Responses

Powered by Blogger.