गर्भवती बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाइन्
२०७२ साउन ११ सोमबार
राजविराज : परिवार पाल्न छोरो विदेशिएका बेला परपुरुषसँगको सम्पर्कपछि गर्भवती भएकी बुहारीलाई सासूले प्रेमीको जिम्मा लगाएकी छन् ।

कञ्चनरुप नपा–९ धर्मपुरकी २० वर्षीया रेणुदेवी साह र छिमेककै सोल्टी नाता पर्ने १८ वर्षीय पुजन साहबीचको यौनसम्बन्धबाट गर्भ बसेको खुलेपछि आइतबार रेणुलाई गाउँलेले पुजनकै जिम्मा लगाएका हुन् ।

रेणुका पति फागु साह ०७१ साउन २२ गतेदेखि वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।

सुनसरीको गौतमपुर माइत भई धर्मपुरमा विवाह गरेर आएको वर्ष दिनमा पति विदेश गएपछि उनी पुजनसँग प्रेम सम्बन्ध रहेकी थिइन् । उनी अहिले सात महिनाको गर्भवती छिन् । रेणुको पेटमा हुर्कँदै गरेको गर्भ आफ्नो भएको पुजनले स्विकारेका छन् ।

छोरा विदेशमा रहेका बेला बुहारी गर्भवती रहेको थाहा पाएपछि गत असार २५ गते गाउँमा छलफल बोलाउँदा रेणुले गाउँलेसामुन्ने वास्तविक घटना बाहिर ल्याएकी थिइन् ।

गाउँलेहरुले उतिबेलै रेणुलाई पुजनको जिम्मा लगाउन खोज्दा पुजनका अभिभावकले अस्विकार गरेपछि सासु ५९ वर्षीया पानवतीदेवी साहले गत बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

दुबैलाई प्रहरीले झिकाएपछि गाँउलेसमेत आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । घरपरिवारले अस्वीकार गरेपछि उनले तिनै युवकसँग जीवन बिताउने बताइन् ।

रेणुकी दिदी र पुजनका ठूलोबुवा जगदीश साहका छोराबीच विवाह भएकाले उनीहरुबी सोल्टी नाता पर्छ । विवाह अघिबाटै एक अर्कालाई मन पराउने गरेको कुरा उनीहरुले प्रहरी कार्यालयमा बताए ।

हामी एक अर्कालाई माया गर्छाैं, जे हुनु थियो भयो’, सहमति पत्रमा हस्ताक्षर गर्दै युवकले भने, ‘अब हामी दाम्पत्य जीवनमा तयरा छौं ।’

आफूले प्रेम गरेकाले पत्नीकारुपमा स्वीकार्ने र युवतीले पनि आफूसँग बस्न चाहेको युवकले बताए । युवक अविवाहित हुन् भने युवतीका पहिलो पति फागुतर्फ एक वर्षीया छोरी छन् । एक वर्र्षीया नाबालिकाको पालनपोषणको जिम्मा भने हजुरआमा पानवतीले लिँदै घर लगिन् ।

‘समस्या आएपछि समाधान त गर्नै पर्‍यो’, घरपरिवार र गाउँलेले सहमति गरी दिएको जानकारी दिँदै स्थानीय हरिलाल साहले भने, ‘सुरुमा त केटाले मेरो गर्भ होइन भनेर डीएनए परीक्षण गर्छु भन्थ्यो, तर छलफलका क्रममा गर्भ आफ्नै रहेको स्वीकार्‍यो ।’

तथ्यांकअनुसार नेपालबाट दैनिक एक हजार पाँच सय बढी युवा वैदेशिक रोजगारीमाश जाने गर्छन् । सप्तरीमा अविवाहितभन्दा विवाहित युवा नै बढी विदेशिने गरेको आँकडाले देखाउँछ ।

सप्तरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले पत्नी, छोराछोरी र घरपरिवारको लागि विदेशिने युवाकै घरबार भने दिनदिनै भत्किँदै गएको बताए । एक महिनाको अवधिमा यस्तै प्रकारका चारवटा घटना प्रहरी कार्यालयमा आएको उनले जानकारी दिए ।

गाउँ, घरपरिवारको मोहमाया त्यागेर छोराछोरी र पत्नीका लागि श्रम गर्न विदेशिएका पतिले कमाएर पठाएको रकममा केहीले रजाइँ गर्न थालेपछि पुरुषहरु पीडामा पर्न थालेको महिला अधिकारकर्मी पनि बताउँछन् ।

मनोहरकुमार |
अन्नपूर्णपोस्ट  बाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.