हिन्दु राष्ट्रको माग गर्नेहरुमाथि क्रिश्चियनले गरे कुर्सी प्रहार !
इटहरी, ५ साउन-सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं २, ४ र ५ निर्वाचन क्षेत्रमा संविधानको मस्यौदाका लागि अन्तिम दिन मंगलबार सुझाव सङ्कलन गर्ने कार्यमा निर्वाचन क्षेत्र नं २ को इटहरी र निर्वाचन क्षेत्र नं ५ को लौकहीमा झडप, हस्तक्षेप र नाराबाजी भएको छ ।

निर्वाचन क्षेत्र नं ५ को लौकहीमा भएको सुझाव सङ्कलन कार्यमा केही मधेसवादी दलका नेता तथा कार्यकर्ताहरुले नाराबाजी र अवरोध सिर्जना गर्ने कार्य गरेको भएपनि त्यहाँ सुरक्षाकर्मीको सक्रियतामा उनीहरुलाई हटाएपछि सो स्थानमा सुझाव लिने कार्य सहज बनेको थियो ।

तर यता इटहरीको रिजाल पार्टी प्यालेसमा भएको निर्वाचन क्षेत्र नं २ को सुझाव सङ्कलन कार्यक्रमस्थलमा हिन्दू धर्मावलम्बीहरुले संविधानमा नै हिन्दू राष्ट्र लेखिनुपर्छ भनेर ज्ञापनपत्र बुझाउने कार्य भइरहेका बेला सोही हुलमा मिसिएर भवनभित्र प्रवेश गरेका केही क्रिश्चियनहरुले कुर्सी प्रहार गरेर स्थितिलाई उत्तेजित पार्ने कार्य भएपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।

कार्यक्रमस्थलमा रहेका राप्रपा नेपालका सभासद् रामकुमार सुब्बा पनि कार्यक्रमस्थलबाट बाहिर निक्लएपछि बाहिर रहेका राप्रपा नेपाल, सङ्घीय लिम्बूवान पार्टी तथा आदिवासी जनजाति महासङ्घका समर्थकहरुले समेत संविधानमा नै हिन्दू राष्ट्र लेखिनुपर्ने विषयमा नाराबाजी गरेपछि अवस्था निकै नै तनावग्रस्त बन्न पुगेको थियो ।

संविधानको मस्यौदाका विषयमा सुझाव दिनका लागि त्यहाँ पुगेका नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी लगायत समर्थक राजनीतिक दलका नेता तथा कार्यकर्तासमेत सुझाव सङ्कलन स्थलसम्म सुरक्षाका कारण पुग्न सकेनन् ।

सुझाव सङ्कलन केन्द्रमा प्रवेश गरिसकेकाहरु बाहिर आउन नसक्ने र बाहिर भएकाहरु भित्रपस्न नसक्ने अवस्था सिर्जना भएपछि सुझाव सङ्कलन केन्द्र बाहिर ढुङ्गामुढा प्रहार गर्ने कार्य पटक पटक भएकाले सर्वसाधारणले सहज रुपमा सुझाव दिने स्थिति बन्न सकेन ।

त्यही अवसरमा सभासद् रामकुमार सुब्बाले कोठाभित्र सीमित मानिसहरु बसेर सुझाव सङ्कलन गरेर बनाइने संविधान आमनेपाली जनताको हित र भावना मुखरित हुननसक्ने दाबी गर्नुहुँदै यसरी सुझाव सङ्कलन गरेर आउने संविधान नेपालीको हितमा नहुने जिकिर गरेर भाषण गर्नुभएपछि कार्यक्रमस्थल बाहिरको भीड झनै उत्तेजित बन्न पुगेको थियो ।

तोडफोड र उत्तेजित भएर नाराबाजी गरिएपनि त्यहाँ उपस्थित सशस्त्र र जनपद प्रहरीले संयमता अपनाएर स्थितिलाई रक्तपातपूर्ण हुनबाट रोकेका थिए । सुझाव सङ्कलन कार्य हुन नदिनका लागि बाहिर ढुङ्गामुढा गरिरहेकाहरुका तर्फबाट रिजाल पार्टी प्यालेसको बाहिरी भागमा भने निकै नोक्सानी पु¥याएका थिए । रासस


भिडियो हेर्न तल क्लिक गर्नुहोस :


0 comments

Write Down Your Responses

Powered by Blogger.