मोदीका दुत विन बोलाए मैमान हुन
भेषबहादुर थापा (परराष्ट्रविद्)
हाम्रा हरेक परिवर्तनमा छिमेकी देशबाट बिशेष दुत नेपाल आउने गरेका छन् । २०४६ सालमा चन्द्र शेखरले डेरा जमाई बसेका थिए, भने २०६२, ६३ को आन्दोलनमा करनसिंह नेपाल आएका थिए ।
यी दुई छिमेकी दुतहरुको नेपाल आगमण र आज नेपाल आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतको भूमिका र चासोमा निकै भिन्नता छ । उनीहरु आन्दोलन, परिवर्तनलाई सहयोग गर्न आएका थिए भने अहिलेका दुत विना बोलाए मैमान बनेर परिवर्तनलाई हस्तक्षेप गर्न आउँदैछन् । यो कुरा हाम्रा राजनीतिज्ञले राम्रोसँग बुझनु पर्दछ ।
छिमेकीहरु सद्भाव राख्न, सल्लाह दिन नेपाल आउन सक्छन् । यो कुटनीतिक मर्यादामै पर्छ तर यहाँ आएर संविधानको धारामा हस्तक्षेप गर्न कसैले खोज्यो भने त्यो सरासर हस्तक्षेप हो । यो कुटनीतिज्ञको क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो ।
भारतीय विदेश मन्त्रालयका सचिव जयशंकर आज नेपाल आउँदैछन् । एकातिर नेपालीले नै बनाएको संविधान संविधानसभाबाट पारित भइसकेको छ भने अर्काे तर्फ केही पार्टी सडक आन्दोलनमा छन् । सडक आन्दोलनका माग पुरा गराउन उनी नेपाल आएका हुन भने त्यो कुटनीतिक पर्यादाभन्दा बाहिरको कुरा हो । हस्तक्षेप हो ।
आन्दोलनमा रहेका दलहरुका माग सम्बोधन गर्ने ठाउँ प्रसस्त छ भनेर मुख्य दलले भनिरहेका बेला बिशेष दुत नेपाल आउनुले केही समयअघि भारतीय गृहमन्त्रीले दिएको अभिब्यक्तिलाई पुष्टी गर्नु हो । नेपालमा रहेका एक करोड भारतीय नागरिकको रक्षा गर्न भारतीय गृहमन्त्रीले दिएको अभिब्यक्ति पुष्टी हुँदैछ । यसरी नेपाल आउने र आफ्ना कुराहरु राख्ने चलन छिमेकीको यो पहिलो होइन तर यतिबेला अलि फरक छ । किन भने पाहुँना जहिले पनि बोलार आउने हो उहाँ निम्ता विनाको पाहुँना हो ।
संविधानका धारा र दफामै हस्तक्षेप गर्न भारतीय प्रधानमन्त्री मोदीले बिशेष दुत नेपाल पठाएका हुन् भने केही दिनअघि भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा रहेका एक करोड भारतीय नागरिकको रक्षा गर्न दिएको अभिब्यक्तिलाई आधिकारिक रुपमा पुष्टी गर्छ ।
भारतीय गृहमन्त्रीले कुटनीतिक सीमाना नाघेर बोल्दा नेपालका गृहमन्त्री चुप लागेर बस्नु भयो । जति भारतीय दाजुभाई नेपालमा छन्, त्यति नै नेपाली भारतमा छन् । उनीहरुका बिषयमा हाम्रो सरकार तत्काल बोल्नु पर्दथ्यो । राजनाथको भाषा नेपाली जनताका भावना बिपरित थियो । त्यसको कुटनीतिक जवाफ सरकारले दिनु पर्दथ्यो ।
छिमेकीको भूमिका खोज्ने यो नौलो कुरा भने भएन । म सन्दैछु, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिले आफ्ना विशेष दुत भारत पठाउनु भएको कुरा । एमालेले जुन कम्पेलेक्समा पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुभन्दा पहिले आफ्ना प्रतिनिधि छिमेकीको दैलोमा पठाउनु भयो । यो नितान्त गलत हो । कानेखुसी गरेको कुटनीतिले क्षणिकरुपमा केही दल र नेतालाई फाइदा होला, तर अन्ततः देशलाई फाइदा हुँदैन । हुन त देशको बागडोर समाल्नु पूर्व छिमेकीलाई पुजा गर्ने चलन नेपालका लागि नयाँ कुरा भने होइन । केही पार्टीहरु आर्शिबाद लिने प्रबृतिबाट ग्रसित छन् । त्यसको परिणाम देशले भोगिरहेको छ ।
यतिबेला भारतीय प्रधानमन्त्रीका विशेष दुत नेपाल आउनुको अर्काे कारण म भारतीय मिडिया देख्छु । भारतका मिडियामा जुन प्रकारका नेपाल सम्बन्धी समाचारहरु आएका छन् यसले नेपालमाथी ठुलो हस्तक्षेप निम्त्याउने खतरा छ । भारतीय मिडियामा आएका नेपाल सम्बन्धी समाचारमा लगातार भारतको हस्तक्षेपकारी भूमिका नेपालमा खोजिएको छ । यो देशका लागि ठुलो दुर्भाग्य हो । त्यो भन्दा ठुला दुर्भाग्य भारतका मिडियामा आएका नेपाल सम्बन्धी समाचारहरु गलत र भ्रामक हुँदा हुँदै त्यसको खण्डन गर्न काममा हाम्रो सरकार चुक्यो । कुटनीतिक पहल नै भएन । यसले भारतीय प्रधानमन्त्रीलाई पनि एक प्रकारको भए उत्पन्न गरेको आंकलन गर्न सकिन्छ ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।




0 comments
Write Down Your Responses