“खसी किन्दा यी कुराहरु ख्याल गरौँ”
स्वस्थ मासुका लागि उपभोक्ताले कस्तो खसी खरिद गर्ने ?
केही टाढाबाट हेर्दा उज्यालो, चिल्लो, फूर्तिलो र पुच्छर हल्लाएको छ भने त्यस्तो खसी रोज्नुपर्छ । त्यस्तो खसी नजिकबाट हेर्दा आँखामा कचेरा नलागेको, नाकबाट सिँगान नबगेको तथा मुखवरपर घाउ नभएको, छेरौटी नलागेको, भुँडी नफुलेको, माथ ठाडो बनाएको, नखोक्ने, दाँतको बंगरामुनि पानीको लोलाजस्तो नझोलिएको खसी रोज्नुपर्छ । यसको विपरीत लक्षण भएका खसी–बोका रोगी हुन सक्छन्। तर, उपभोक्ताको रोजाइ मोटो र ठूलो खसीमा भएको पाइन्छ ? यो स्वास्थ्यका दृष्टिले कति राम्रो हो ? धेरै मोटो राम्रो हुँदैन ।
मोटो खसी–बोकाको मासु रातो र बढी बोसो जमेको हुन्छ । त्यसले मानिसको कोलेस्ट्रोल बढाउँछ । मुटुरोग लागेका मानिसलाई कोलेस्ट्रोल बढी भएको मासुको सेवनले थप असर पार्छ । त्यसैले खसी रोज्दा भुँडी लागेको भन्दा ‘स्लिम’ खसी रोज्नु राम्रो हुन्छ । अर्थात् भुँडी झोलिएको भन्दा भुँडी सुकेको खसीको मासु स्वास्थ्यका दृष्टिले फाइदाजनक पनि हुन्छ ।
कुन उमेरको खसीको मासु राम्रो हुन्छ ?
एकदेखि डेढ वर्षसम्मको खसीको मासु अति राम्रो मानिन्छ । त्यो उमेरको पाइएन भने दुई वर्षदेखि साढे दुई वर्षसम्मको खसी राम्रो हुन्छ । त्योभन्दा बढी उमेरको खसीको मासु छिप्पिएको हुने र कोलेस्ट्रोलसमेत बढाउने भएकाले त्यति राम्रो मानिँदैन । उमेर छिप्पिएको खसीको मासु पकाउनसमेत समय लाग्छ ।
तर उमेर कसरी छुट्टयाउने ?
यो अलि जटिल विषय हो । पशुचिकित्सक र प्राविधिकले दाँत हेरेर छुट्याइदिन सक्छन्, तर आम सर्वसाधारणले खसी खरिद गर्ने वेला प्राविधिक खोज्न कहाँ जाने ? त्यसैले उपभोक्ताले खसीको मुख खोलेर हेर्ने दाँत छिप्पिएको, अगाडि भागमा तेर्सिन थालेको छ भने त्यो पाको उमेरको हुन सक्छ । तर, टम्म मिलेको र चम्किलो दाँत छ भने त्यो भर्खरको हुन सक्छ ।
सहरबजारमा बाहिरबाट भित्र्याइएका खसी–बोकाहरू दसँैका लागि खरिद गर्ने क्रम सुरु भइसकेको छ, त्यसरी खरिद गरिएका खसीहरूलाई स्वस्थ रूपमा कसरी राख्ने ?
किनेका खसीलाई के खुवाउने ?
सहरबजारमा दुई–चार दिनका लागि किनेर घरमा लग्ने खसीलाई चामल, गहुँ र पिठो खुवाउने चलन छ । यसरी चामल वा पिठो खुवाउँदा अपच हुन सक्छ र बिरामी हुन सक्छ । त्यसैले सकेसम्म हरियो घाँसपात नै खुवाएको राम्रो ।
साभार: नयापत्रिका




0 comments
Write Down Your Responses