बर्षमान पुन भिलेन बन्दा एमाओवादीमा भाँडभैलो, शक्तिकेन्द्रको दवावमा पत्नीलाई सभामुख !
शनिबार, आश्विन ३०,
एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुन अनन्तले शक्तिकेन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दवाव दिएर पत्नी ओनसरी घर्तीलाई सभामुख बनाएको आरोप लागेको छ । एमाओवादीका नेताहरुले अध्यक्ष प्रचण्डलाई विभिन्न शक्ति केन्द्र र बिभिन्न समुहको दवाव दिएर अनन्तले पत्नी ओनसरीलाई सभामुख बनाएको बताएका छन् । अध्यक्ष प्रचण्डलाई आफुले पार्टी परित्याग गर्ने सम्मको चेतावनी दिएको अध्यक्ष निकट स्रोतले बताएको छ ।

अनन्तका कारण पार्टीबाट सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा विवाद बल्झेको एमाओवादी नेताह्रु बताउन थालेका छन् । महासचिव महराको नेतृत्वमा सरकारमा जाने निर्णय भएपनि अन्य मन्त्रीको टंगो लाग्न भने अझै सकेको छैन । उनकै कारण एकीकृत नेकपा माओवादी अहिलेसम्मकै चरम विवादमा फसेको छ । व्यक्तिगत फाइदालाई लिएर अनन्तले विभिन्न शक्तिकेन्द्र परिचालन गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड अप्ठयारोमा परेका छन । पार्टीभित्र विभिन्न कार्ड प्रयोग गरेर आफ्नी पत्नी ओनसरी घर्तीमगरलाई सभामुख बनाउ सफल भएका अनन्तले पछिल्लो समय आफू निकट व्यक्तिलाई गृहमन्त्री बनाउने लविङ्ग थालेपछि माओवादी भित्रको विवाद तिब्र भएको छ ।

शान्ति प्रक्रियामा आएपछि अर्थमन्त्री लगायत विभिन्न पदको लाभ लिएका अनन्तले परिवार र जनजाति उन्मुख राजनीतिलाई अगाडी सारेका छन । सिंहदरबारमा रहेको उपसभामुखको कार्यालय यसअघि उपसभामुख ओनसरी घर्तीले भन्दा धेरै अनन्तले प्रयोग गरेका थिए ।

सिंहदरबारमा रहेको उपसभामुखको कार्यालय घर्तीले भन्दा अनन्तले प्रयोग गरेपछि व्यवस्थापिका संसद सचिवालयका कर्मचारीले समेत यस विषयमा छलफल गरेका थिए । एक कर्मचारीले भने ‘हामीले उपसभामुखको कार्यकक्षमा उहाँलाई भन्दा अनन्त लाई बढी सेवा सुविधा प्रयोग गरेको देखेका छौं । त्यसैले उहाँले गरेको खर्चको विवरण समेत सचिवालयमा अवगत गराएका छौं । स—साना कुरादेखि ठूला मिटिङ्गसम्म उपसभामुखको कार्यालयमा गरिएको छ । यो सबै खर्च सचिवालयले बेहोर्ने गरेको छ । अब त पत्नी सभामुख भएपछि खर्च बढ्नैनै भयो । त्यो भन्दा अप्ठ्यारो हामीलाई सभामुखका पति अनन्तका पाहुनाको सेवा गर्नुपर्ने भयो ।’ ती कर्मचारीले पहिलेदेखिनै अनन्तले आफ्नी पत्नीलाई सभामुख बनाउन लविङ्ग गरेको बताए ।

माओवादीका शीर्षनेताहरुले भविष्यको नेतृत्वका रुपमा सोचेका अनन्तले व्यक्तिगत फाइदा हेरेर आफू निकटका व्यक्तिलाई गृहमन्त्री बनाउने कसरत थालेका छन । पार्टी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध उनले पूर्व लडाकु कमाण्डरको भेला गरेर महासचिव कृष्णबहादुर महरालाई सरकारमा जान रोक्ने योजना बनाएपछि महराले सरकारमा नजाने निर्णय गरेका स्रोतको भनाई छ । अनन्तले आफू निकट स्थायी समिति सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री शक्तिबहादुर बस्नेतलाई मन्त्री बनाउन लविङ्ग गरेका छन । अनन्तको गेमप्लान नबुझेका जर्नादन शर्मा प्रभाकर, नन्दकिशोर पुन पासाङ्ग, धनबहादुर मास्की, तेजबहादुर ओली प्रतीक, कालिबहादुर खाम, गोविन्द बटला लगायतले समेत उनको कदमलाई साथ दिदैं अध्यक्ष प्रचण्डलाई दबाब दिएको स्रोतको भनाई छ ।

पार्टी एकताको विरुद्धमा अनन्त
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टी एकताका लागि पहल तिब्र पारेका छन । तर त्यो कुरा अनन्तलाई चित्त बुझेको छैन । पहिल्यैदेखि प्रभाकर र पासाङ्गले थालेको एकता अभियानको अनन्त र शक्ति बस्नेतले खुलेरै बिरोध गरेका थिए । वैद्य र विप्लवसंग पार्टी एकता गर्दा आफूले पद नपाउने भन्दै एकताका विरुद्धमा केही पत्रकारलाई बोलाएरै बिरोधमा समाचार लेख्न अनन्तले लगाएका थिए ।

महासचिव महराले सुरुदेखिनै सबै माओवादी कम्युनिष्ट पार्टीबीच एकताको अभियान थालेपछि महरा विरुद्ध अनन्त नेतृत्वमा अभियान थालिएको थियो । एकता अभियान थालेका महरालाई संगठनमा जिम्मेवारीपूर्ण काम नगरेको भन्दै अनन्तले त्यसको बिरोध गरेका छन । भेलामै सहभागि एक नेताले  अनन्तले आपूmहरुलाई व्यक्तिगत फाईदाका लागि प्रयोग गर्न खोजेको अभिव्यक्ति दिएका थिए ।

पूर्व लडाकुको भेला गराएर अनन्तले नेत्रविक्रम चन्द र रामबहादुर थापासंग महराको राम्रो सम्बन्ध भएकोले गृहमन्त्री दिन नहुने बताएका थिए । अनन्त र नेत्रविक्रम चन्दबीच राम्रो सम्बन्ध छैन । त्यसो त आफू भन्दा धेरै सिनियर रहेका रामबहादुर थापा बादलसंग समेत अनन्तको बोलचाल बन्द   छ । अर्थमन्त्री हुँदा विभिन्न संचार माध्यममा लगानी गर्न लगाएर आफू निकट जनजाति पत्रकारलाई जागिर खुवाएका अनन्तले देशैभर संगठन आफ्नो पक्षमा रहेको समेत बताउने गरेका छन ।

नेपाल पत्रकार महासंघमा क्रान्तिकारी पत्रकार संघमा आवद्ध पत्रकारलाई भन्दा एक जनजाति पत्रकारलाई पदाधिकारीमा ल्याउन समेत अनन्तले संघका नेताहरुलाई गाली गरेका थिए । एक कार्यकर्ताले उनी कहिल्यै पनि संगठन निर्माणमा बताउँछन । पछिल्ला उनका गतिविधिले उनी व्यक्तिगत फाईदामा लाग्ने नेताका रुपमा परिचित बनेका छन । कम्युनिष्ट केन्द्र बनाउन लागेका अध्यक्ष प्रचण्ड समेत अनन्तका क्रियाकलापका कारण चिन्तित बनेका छन । मन्त्री छान्ने कुरामा अनन्तले बिरोध गर्न लगाएपछि माओवादी भद्रगोलमा फसेको छ ।
एसकाठमाडौँबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.