भारतसँग वार्ता गर्ने जिम्मा कमल थापालार्इ
काठमाडौँ, असोज २५ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले इन्धन र अन्य सामाग्रीको आपुर्ति सहज बनाउन भारतसँग वार्ता गर्न उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापालार्इ जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषदले थापा  संयोजक र मुख्य सचिव सोमलाल सुवेदी सदस्य रहेको समिति बनाएको छ । यस्तै, मन्त्रिपरिषद्ले सरकारको प्रवक्तामा कानुन मन्त्री अग्नी खरेललाई तोकेको छ ।

यस्तै सरकारले नेपाललार्इ तुइन मुक्त गर्ने निर्णय गरेको छ । हाल नेपालमा साढे तीस सय तुइन रहेका छन् । तिनीहरू साढे २ बर्ष भित्र झोलुङ्गेपुलले विस्थापन गर्ने सरकारले निर्णय गरेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा रहेका तुइनलाई झोलुङ्गेपुलले विस्थापित गर्ने आफ्नो सरकारको पहिलो निर्णयमा हस्ताक्षर गर्दै अब तुइनको जमाना सकिएको बताए ।

सिंहदरबारमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पहिलो महत्वपूर्ण निर्णय भन्दै प्रधानमन्त्री ओलीले नेपालका दुर्गम स्थानमा हाल रहेका ३५० तुइनलाई दुई वर्षभित्र झोलुङ्गेपुलले विस्थापित गर्ने बताए  ।

मानिसले तारको सहायताले जोखिमपूर्ण यात्रा गरी ठूला नदी वारपार गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सो निर्णय गरिएको बताउँदै उनले भने, “ती तुइनलाई अविलम्ब झोलुङ्गेपुलले दुई वर्षमा विस्थापित गरिनेछ ।”

“अब नेपालमा तुइनको जमाना सिध्यो । हामी नयाँ जामानामा प्रवेश गरेका छौँ”, उनले भने । दुई वर्षभित्र निर्माण गरिसक्ने गरी काम अविलम्ब प्रारम्भ गर्ने र त्यसका लागि रु तीन अर्ब २५ करोड ७७ लाख लाग्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सतर्कता केन्द्रसँग सम्बन्धित प्रशासनिक सुधारको कामका साथै मुलुकका विभिन्न क्षेत्रलाई बिल्कुलै नयाँ ढङ्गले अगाडि बढाउने विश्वास दिलाए ।


0 comments

Write Down Your Responses

Powered by Blogger.