लालबाबु पण्डितलाई समेत मुछेर करोडौंको ठगी
काठमाडौं, ३० असोज ।
गत साता महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी पीताम्बर अधिकारीलाई ९८५१०९६९६८ नम्बरको मोबाइल फोनबाट कल आयो । एसएसपी साप म प्रधानमन्त्रीज्यूको स्वकीय सचिव वसन्त गौतम बोलेको । त्यो देव थापा भन्ने मान्छेलाई पक्राउ नगरे हुँदैन?’
एसएसपी अधिकारी एक सातादेखि तिनै थापाको खोजीमा थिए । दुनियाँलाई ठगी गरेको व्यक्तिलाई पक्राउ नगर्न भन्दै प्रधानमन्त्रीका पिएको फोन आएपछि एसएसपी अधिकारी रिसाएनन्, बरु हाँसे । किनकी, जुन नम्बरबाट उनलाई फोन आएको थियो, त्यो नम्बर पहिले नै प्रहरीले अनुसन्धानको दायरामा ल्याइसेको थियो ।
ललितपुर प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका तिनै थापाले आफूलाई प्रधानमन्त्रीको पिए भन्दै फोन गरेको कुरा एसएसपी अधिकारीले पत्ता पाइसकेका थिए । उनले आफूलाई प्रधानमन्त्रीको पिए भएको दाबी गर्दै फोन गरेपछि झन् अधिकारीलाई पक्रन दबाब पर्यो । करिब दुई साता लामो अप्रेसनपछि आखिर प्रधानमन्त्रीका नक्कली पिए प्रहरी फन्दामा परेरै छाडे । बिहीबार बेलुका ललितपुर प्रहरीले उनलाई बालाजुबाट पक्राउ गर्यो ।
‘उनको वास्तविक नाम राजकुमार चापागाईं भएको खुलेको छ,’ एसएसपी अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने,‘सरकारी जागिर लगाइदिने भन्दै उनले आठजनाबाट ४२ लाख रुपैयाँ ठगी गरेको खुलिसकेको छ । अरु निवेदन आउने क्रम जारी छ ।
अचम्म त के छ भने उनले आफ्नो ठगी धन्दामा पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित समेत प्रयोग गरेको पाइएको छ । चापागाईंले साउनको दोस्रो साता रीना र दीपा महर्जनलाई उनले पुल्चोकस्थित मन्त्री क्वार्टरमा लिएर गए । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटाए जागिर लगाइदिन आग्रह गरे । उनीहरुलाई फरकफरक दिन भेटाइएको थियो ।
चापागाईंसँग सामान्य चिनजान भएकाले पूर्वमन्त्री पण्डितले रीना र दीपालाई के गर्छौ भनेर सोधे । तर, जागिर लगाउन लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्ने बताए । भेटघाटपछि उनी तल झरे । बाहिर निस्कन लाग्दा मन्त्रीले फोन गरेर बोलाउनुभयो भन्दै फोन उठाएजस्तो गरेर फेरि भित्र गए । केहीबेरमा फर्केपछि मन्त्रीज्यूले तिम्रो जागिर पक्का भन्न बोलाउनुभएको रहेछ भनेर युवतीलाई गुमराहमा पारे । यसरी पैसा असुल्न उनले सोझा मन्त्रीलाई समेत प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । नयाँ पत्रिका


0 comments

Write Down Your Responses

Powered by Blogger.