प्रधानमन्त्री ओलीको सरकार पनि चीनबाट पेट्रोल ल्याउन डरायो
भारतले नाकाबन्दी लगाएपछि विकल्पको रुपमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बारे हालसम्म औपचारिक कुनै निर्णय भएको छैन। नयाँ सरकार आएपछि पनि यसबारे कुनै निर्णय हुनसकेको छैन। विकल्पको रुपमा केही मात्रै भएपनि पेट्रोलियम पदार्थ ल्याउन सकेको भए भारतले समेत बाध्य भएर आपूर्ति बढाउनुपर्ने अवस्था आउनसक्ने निगमका अधिकारीहरु बताउँछन्। तर अहिलेसम्म आयल निगमलाई सबै भारी बोकाएर सरकारले पनि कुनै निर्णय नगरेको निगमका एक अधिकारीले बताए।
‘सरकारले औपचारिक रुपमा चीनलाई कुनै प्रस्ताव गरेको छैन। हामीले नाकाबन्दी लगाउनेबितिकै चीनतर्फ सोच्नुपर्छ भनेका थियौँ। तर अघिल्लो सरकारले मात्रै होइन यो सरकार पनि चीनतर्फ इच्छुक देखिएको छैन, ती अधिकारीले भने, ‘हामीले उतरी नाकाबाट तेल ल्याउँदा सहज र सस्तो हुन्छ भनेका होइनौ तर यसले भारतलाई झुकाउन सजिलो हुन्थ्यो भन्ने मात्रै हो ।’ भारतले औपचारिक रुपमा नै नेपाल स्वतन्त्र देश भएकोले आफूलाई आवश्यक सामान चीन लगायत जहाँबाट ल्याउँदा पनि स्वागत गर्ने बताइसकेको छ। स्रोतका अनुसार चीनबाट तेल ल्याउने बारेमा वाणिज्य मन्त्रालय नै इच्छुक छैन । वाणिज्य मन्त्रालयको सक्रियता नभएकोले प्रक्रिया अघि नबढेको ती अधिकारीले बताए।
ग्लोबल टेन्डरमा पनि भारतबाटै ल्याउने प्रस्ताव – निगमले हवाई इन्धन ल्याउन नेपाल वायुसेवा निगमको टेन्डर पास गरिसकेको छ। वायुसेवा निगमले अहिले भारतकै कोलकाताबाट हवाई इन्धन ल्याइरहेको छ। त्यसैगरी पेट्रोल र डिजेल ल्याउन प्रस्ताव हालेका मध्ये धेरैले भारतबाट एयरलिफ्टमार्फत तेल ल्याउने प्रस्ताव नै गरेका छन्। एलपी ग्यास भने चीनबाट ल्याउन दुई कम्पनीले प्रस्ताव गरेका छन्। ‘तेल ल्याउने टेन्डर पहिलो पटक भएको हो। एकदुई रुपैयाँ घटबढ भएको आधारमा पछि कारवाही हुने डरले निर्णय गर्न सकिएको छैन’, स्रोतले भन्यो, ’हामीलाई कम्पनी छनौट महाभारतजस्तो भएको छ। हामीले कम्पनीको वित्तीय अवस्था, क्षमता र सस्तो हेरेर संचालक समितिलाई पठाउँछौ।’ निगमका एक अधिकारीका अनुसार निगमले राम्रो प्रस्तावलाई संचालक समितिले निर्णय गरेर मन्त्रिपरिषद्बाट निर्णय भएमा समस्या कम हुन्छ। टेन्डरमा एक लिटर पेट्रोलको मूल्य २ सय ५० रुपैयाँसम्म पर्ने देखिएको छ।




0 comments
Write Down Your Responses