भारतीय नेताले नै भने, ‘नेपाली जनता, मोदीलाई माफी दिनुस्’
मणिशंकर ऐयर वरिष्ठ नेता, भारतीय राष्ट्रिय कंग्रेस

भारतका पूर्वकूटनीतिज्ञ मणिशंकर ऐयर भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा पूर्वकेन्द्रीय मन्त्री हुन् । भाजपा नेतृत्वको सरकारले नेपालमा नयाँ संविधानप्रति देखाएको रोष र असन्तोषको कडा प्रतिवाद गर्दै उनले एनडिटिभी अनलाइनमा लेखेको लेख यतिवेला संसारभरि चर्चामा छ । ७४ वर्षीय ऐयर विशेषगरी भारतमा पाकिस्तान र दक्षिण एसिया मामिलाका विज्ञ मानिन्छन् । मनमोहन सिंह नेतृत्वको पहिलो सरकार (२००५–२००९) मा उनले केन्द्रीय पञ्चायत, पेट्रोलियम तथा आपूर्ति र खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । नेपालबारे जानकार पूर्वमन्त्री ऐयरसँग दिल्लीस्थित उनको निवास सफ्दरजंग लेनमा नयाँ पत्रिकाका पर्शुराम काफ्लेले गरेको कुराकानी :

तपाईंले भारत सरकार र नेपालबीचको वर्तमान अन्तर्विरोध वा असझदारीको कारण वैचारिक र राजनीतिक दुवै भन्नुभएको छ । एउटा देशले अर्कोसँग व्यवहार गर्ने मामिलामा वैचारिक राजनीतिक विषय महत्त्वपूर्ण हुन्छ कि स्वार्थ ?
मैले यसबारे प्रस्ट रूपमा बोल्दै र लेख्दै आएको छु । जहाँसम्म वैचारिक सवाल छ, यो हामीले भुल्नुहुँदैन कि नरेन्द्र मोदीजी आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) का कार्यकर्ता हुन् । देशका प्रधानमन्त्री भए पनि उनी आजसम्म आरएसएसकै प्रचारक हुन् । आरएसएसको स्पष्ट मान्यता रहँदै आएको थियो कि भारत हिन्दू राष्ट्र हो । पाकिस्तान छुट्टिएर गयो । बाँकी जे–जति भारतवर्षको हिस्सा छ, त्यसलाई आरएसएस हिन्दूत्वको पहिचान दिन चाहन्छ ।

नेपाल विगतमा एक हिन्दू राष्ट्र थियो, जतिवेला नेपालमा नरेश (राजा) को शासन थियो । हिन्दू राष्ट्र नेपाल आरएसएसका लागि एउटा आकर्षक विषय थियो । नजिकको छिमेक हिन्दू राष्ट्र कायम हुँदा हिन्दुस्तानमा पनि त्यसको सकारात्मक प्रभाव पर्छ र भारतलाई हिन्दू राष्ट्र बनाउने कोसिस केही मजबुत हुन्छ भन्ने आरएसएसको बुझाइ रहँदै आएको छ । जब नेपालको संविधान बन्छ, त्यसमा हिन्दू राष्ट्र वा यो झल्किने गरी कुनै शब्द लेखिनेछ भन्नेमा मोदीजी र आरएसएस दुवै विश्वस्त थिए । तर, नेपालले यस विषयलाई वास्ता गरेन र गर्नु जरुरी पनि थिएन ।

नयाँ संविधानमा नेपालले धर्मनिरपेक्ष गणतन्त्र उल्लेख गर्‍यो जुन भाजपा, आरएसएस वा मोदीजीका लागि ठूलो निराशाको विषय थियो । मोदी नेपाललाई हिन्दू परिवारको अटुट अंग बनाएर राख्न चाहन्थे । नेपाल पनि जवाहरलाल नेहरुको बाटो समातेर एक धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र बन्नु मोदीजीको चाहनाको खिलाफ थियो । यो मेरो आरोप होइन, उनको वैचारिक राजनीतिक मान्यता यही हो ।

यही कारण नेपालको मधेसमा रहेको जनकपुरमा गएर मोदीले पब्लिक भाषण गर्न चाहेका थिए । अहिले एक विषय मोदीजीको सम्झनामा आएको छैन कि नेपाल एक अलग र स्वतन्त्र सार्वभौम देश हो । अर्को देशमा गएर त्यस देशको आन्तरिक मामिलामा दख्खल दिएर एउटा भाषण दिनु अर्को देशको जिम्मेवार नेताका लागि सुहाउने विषय नै होइन । उनले आफ्नो भाषणपछि बनिरहेको संविधानको अन्तर्वस्तुमा आफूले भनेजस्तो परिवर्तन आउनेछ भन्ने मोदीको बुझाइ थियो । यो बिल्कुल स्वीकार्य विषय होइन र थिएन पनि । मोदीजीलाई लागेको वैचारिक झड्का यही हो ।

राजनीतिक कारणचाहिँ के हो ?

अहिलेको असझदारीको दोस्रो कारण राजनीतिक हो । यो नेपालले निम्त्याएको होइन, यो पनि मोदीले नै निम्त्याएका हुन् । बिहारमा यही महिना (अक्टोबर) मा चुनाव हुँदै छ । बिहारको चुनाव भाजपाको भविष्यका लागि एक अहं सवाल बनिरहेको छ । उसले सोचिरहेको छ कि सन् २०१४ मा जुन हावा चलिरहेको थियो, अहिले पनि यथावत् छ र भाजपाले नै बिहारको चुनाव जित्नेछ ।

तर, यदि बिहारमा भाजपाले चुनाव हारेको खण्डमा भने मोदीलाई आन्तरिक राजनीतिमा दिल्लीपछिको ठूलो धक्का लाग्नेवाला छ । किनभने, उनी भनिरहेका छन् कि म भारतको एक मात्र नेता हुँ । बिहारमा हार भएको खण्डमा उनको यो सान पूरै ढल्नेवाला छ । बिहारको उत्तरमा नेपालको सीमाना छ । नेपालको तराई इलाकाको प्रभाव बिहारमा स्वत: हुन्छ ।

यो बुझेरै मोदीले अहिले उत्तरी क्षेत्रका बिहारी जनतालाई देखाउन खोजिरहेका छन्, हामी तपाईंको जात र नश्लका नेपालतिरका नातेदार, आफन्तजन वा छिमेकीका साथमा छौँ । मलाई लाग्छ कि यो विचार वा सोच पनि अस्वीकृत हुनेछ । किनभने आफ्नो मुलुकको चुनावको मूल्यमा अर्को मुलुकमा गएर दख्खल दिनु अत्यन्तै नाजायज छ, बिल्कुल गलत छ । यी सब आधारमा टेकेर मैले निष्कर्ष निकालेको छु– मोदी चाहन्छन् कि नेपाल भारतको एक राज्यजस्तो बनोस् न कि एक सार्वभौम, गणतान्त्रिक मुलुक ।’

नेपालका मधेसी जनताको सेन्टिमेन्टले बिहारको चुनावका मतदातामा प्रभाव पर्ने अवस्था रहन्छ र ?
थोरबहुत रहन्छ । किनभने दुवैतिर ठूलो पारिवारिक सम्बन्ध जोडिएको छ । त्यसकारण त मोदी त्यतिवेला जनकपुर जान चाहेका थिए । अहिले तराई–मधेसको सेन्टिमेन्ट जित्नकै लागि नेपाललाई अप्ठेरोमा पार्न खोजिरहेका छन् । घटनाक्रमहरूले यसको पुष्टि गरिरहेका छन् ।

म उनीहरूलाई यति भन्छु, ‘मोदीको मूर्खताले अहिले अप्ठेरो भएको छ । नेपाली जनता, मोदीलाई माफी दिनुस् ।’ विगतमा लाखौँ नेपाली जनताले मोदीलाई स्वागत गरे, अब त्यस्तो जरुरी छैन, केवल माफी दिए पुग्छ ।

त्यसो भए बिहार चुनावको परिणामपछि मोदी सरकारको नेपालप्रति प्रतिक्रिया के हुन सक्ला ?
हामीले चुनाव हार्‍यौँ त, स्वीकार गरेर चुपचाप बसेका छौँ । हार वा जित जेसुकै भए पनि मोदीले नेपालसँगको सम्बन्ध सुमधुर बनाउने प्रयत्न गर्नुपर्छ । अहिले कतिपय अवस्थामा टुटेको सम्बन्ध कायम गर्न उनले पहल गर्नेछन् भन्ने विश्वास राख्नुको विकल्प छैन ।

अहिले भारतका तर्फबाट लगाइएको नाकाबन्दीबारे के भन्नुहुन्छ ?
म जान्दिनँ, यो नाकाबन्दी हो कि होइन । मधेसमा संविधान जारी भएदेखि आजसम्म प्रदर्शन भइरहेका छन् । उनीहरू सडकमा बसेका छन् र बाटो बन्द गरेका छन् । हामी चाहन्छौँ कि मालसामान बोकेका गाडी नेपालमा प्रवेश गरून्, त्यहाँको सुरक्षाको बन्दोबस्त नेपालले गरोस् । तर, विशेष दूत नेपालबाट आउन दिनुस्, त्यसपछि नाकाबन्दी हट्नेछ । मेरो सूचनामा मधेसीले नाका बन्द गरिरहेका छन्, भारतले छैन । तर, मलाई दु:ख छ, आजको दिनमा नेपाली जनता पीडामा छन् । हाम्रा तर्फबाट पनि सरकारले सामान पुर्‍याउनका लागि उचित कदम चालेको छैन ।

तपाईं रणनीतिक, अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ । तपाईंले भनेजस्तो नेपाललाई हिन्दू राष्ट्र बनाउने मोदीजीको चाहना हो भने यसका पछाडि रणनीतिक कारण पनि हुन सक्छ ?
फिजी र मरिसस, सेसेल, वेस्ट इन्डिजमा भारतीय नश्लका अधिकांश मानिसको बसोवास छ । मोदीजी त्यहाँ हिन्दू राष्ट्र बनाउन चाहँदैनन्, जनताले त्यसलाई स्वीकार गर्न सक्दैनन् । भारतवर्ष खुद हिन्दू राष्ट्र बन्न चाहँदैन । एक जमानामा नेपाल हिन्दू राष्ट्र थियो । तर, अहिले पनि मोदी नेपाललाई हिन्दू राष्ट्रको प्रतीक सम्झिन्छन् । यो उनको र आरएसएसको राजनीतिक नारा मात्रै हो । सम्भव नहुने यो विषयको कारण वा परिणाम खोतल्न जरुरी म ठान्दिनँ ।

अाजको नयाँ पत्रिका दैनिकबाट साभार 


0 comments

Write Down Your Responses

Powered by Blogger.