आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई समितिको आग्रह
काठमाडौं, ३ कात्तिक । सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समितिले भारतसँग वार्ता र सम्वाद गरेर कुटनीतिक माध्यमबाट अघोषित नाकाबन्दी अन्त्य गर्न सुझाव दिएको छ ।
समितिका संयोजक एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज बिहान बालुवाटारमा बसेको समितिको बैठकले कुटनीतिक माध्यमबाट भारतसँग छलफल गरी आपूर्ति व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको हो ।
बैठकमा भारतको तीन दिने भ्रमण सकेर सोमबार काठमाडौं आइपुग्नु भएका उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्था सहज बनाउने विषयमा आफूले भारतीय पक्षसँग गरेको प्रयास तथा सम्वादका विषयमा समितिलाई जानकारी गराउनुभएको थियो ।
त्यस क्रममा परराष्ट्रमन्त्री थापाले भारतीय पक्ष आपूर्ति व्यवस्था सहज बनाउने विषयमा सकारात्मक रहेको जानकारी समितिलाई गराएको नेकपा (माले)का महासचिव सिपी मैनालीले जानकारी दिनुभयो ।
भारतले वीरगञ्जको साटो अरु नाकाको प्रयोग गरेर आपूर्ति व्यवस्था मिलाउन सहयोग गर्ने र त्यसका लागि अगाडि बढ्न नेपालालई सुझाव दिएको छ ।
‘परराष्ट्रमन्त्री कमल थापाले आफ्नो भारत भ्रमणका विषयमा राजनीतिक समितिलाई जानकारी गराउनुभयो’, मैनालीले भन्नुभयो, ‘आपूर्ति सहज बनाउन भारत सकारात्मक भएको पाइएको छ ।’
बैठकपछि समितिका सदस्यसमेत रहनुभएका महासचिव मैनालीले सरकारलाई आपूर्ति व्यवस्था मिलाइ जनतालाई राहन दिन सुझाव दिएको बताउनुभयो ।
‘वीरगञ्जको रक्सौल भन्सार नाकाबाहेक अन्य नाकाहरूबाट आपूर्ति व्यवस्था सहज बनाउने भारतको आश्वासन छ’, महासचिव मैनालीले भन्नुभयो, ‘अरु सीमा नाकाहरूबाट आपूर्ति व्यवस्थाका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छौँ ।’
मुलुकको पछिल्लो राजनीतिक विषयमा समेत छलफल गरेको राजनीतिक समितिले छिटोभन्दा छिटो बैकिल्पक व्यवस्था गरे पेट्रोलियमसहितको दैनिक उपभोग्य सामाग्री आयात गर्न सुझाव दिएको छ ।
भारतले मधेसी मोर्चाको आन्दोलनलाई देखाए अघोषित रुपमा नाकाबन्दी लगाएका कारण मुलुकको जनजीवन अस्तव्यस्त बनेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.