रगतका एक बिरामीले भूकम्पपीडितका लागि जे गरे…
असार २२ गते
रिसव गौतम
रगतसम्बन्धी जटिल अनुवांशिक रोग (थालासिमिया) बाट पीडित पारसनाथ मिश्र उमेरले ३४ वर्षका भए । झट्ट हेर्दा २२ वर्षीय ठिटोजस्तो देखिने उनी शारीरिक रूपमा निकै कमजोर भए पनि साहसका धनी छन् ।
आफ्नो उपचारका खातिर उनी बारम्बार काठमाडौं आउनुपर्थो । तर, उनी ९ वर्षअघि आफ्नो उपचार र कामकै लागि काठमाडौं बस्दै आएका छन् । यतिबेला उनी काठमाडौंका आजीवन बासिन्दा झैँ भएका छन्, आफ्नो दीर्घ रोगका कारण ।
हप्ता–हप्तामा उनको शरीरमा रगत भर्नुपर्छ । अन्यथा, उनी जीवित रहन सक्दैनन् । ‘म बाँच्न सम्भव भनेको काठमाडौंमा मात्र हुन्छ,’ उनी भन्छन् । उनी आफ्नो रोगको उपचारका साथै आफूजस्तै नेपालभर रहेका सबै थालासिमिया रोगीको उपचारमा केन्द्रित रहँदै आएका छन् । उनी आफू शाहसले बाँचेका छन्, अरूलाई पनि बचाएका छन् र बचाइरहेका छन् ।
उनी आफैँ रोगी हुँदाहुँदै उनी थालासिमिया रोगका लागि डाक्टरले पनि सम्पर्क गर्नुपर्ने खालको विज्ञ भएका छन् । उनले रोगसम्बन्धी परामर्शका काम मात्रै गर्दैनन्, समाजसेवाका गतिविधि पनि गर्दै आएका छन् ।
हालैको महाभूकम्पमा पारस कालिकास्थानस्थित आफ्नो डेरामा थिए । चौथो तलामा रहेको डेरामा १२ वैशाखको भुइँचालोले धेरै हल्लायो । घरका सबै मान्छे रुँदै र कराउँदै भागे । तर, उनी भागेनन् ।
त्यहीँ रहे । उनको पल्ला घरका पर्खाल भत्कँदै थिए । उनीसँगै डेरा गरी बस्ने पल्लो कोठाका परिवार भयभीत थिए । परिवारको महिला सदस्य गर्भवती भएकाले ज्यादा त्रसित थिए । बरु उनले उनीहरूलाई नआत्तिन सल्लाह दिए । पारसलाई ‘भूकम्प आयो तर एकछिनमा बन्द हुन्छ’ भन्ने लागेको रहेछ । तर, झन्–झन् बढ्दै गएको अवस्थामा उनी किचेनको ढोकातर्फ लागे ।
उनले खाँदै गरेको कपको चिया आधाजसो पोखियो तर उनले त्यो कप समाउन अझै छाडेनन् । घरमा बस्नेहरू सबै घर छाडेर हिँडेपछि केहीबेरमा पारसलाई पनि घरमै बसिरहन ठीक लागेन । अनि उनी आफ्नो ब्याग र पानीको बोतल लिएर घरबाट निस्किए ।
उनले आफ्नो ब्लड टान्सप्युजनको अफिसमा फोन गरे । तर, कसैको फोन लागेन । दुई घन्टापछि भने एकजना बिरामीको फोन आएको उनी बताउँछन् । हुन त अहिले उनले विभिन्न कारणले सोसाइटी छोडिसके ।
तर, आफँले पहल गरी स्थापना गरेको पुरानो अफिसको माया उनलाई ज्यादा छ । फोन गर्ने बिरामीलाई पनि नडाराई सचेत भएर बस्न उनले सल्लाह दिए । घरमा बुबाआमा र भाइलाई फोन गरेर पनि सचेत रहन भने । त्यसपछि उनले रेडियो सुनेर सूचना अपडेट गर्ने काम थाले । जति सूचना उनी ग्रहण गर्थे ती सबै वरपरका मानिसलाई सेयर पनि गर्थे ।
यसरी पारसले भूकम्पका कठीन दिनहरूमा मानिसलाई हौसला दिने काम गरे । साहस भर्ने काम गरे । खरानीबाट उठाउने काम गरे । साना–साना नानीहरूलाई मनोवैज्ञानिक डर–त्रास कम गराउने काम गरे । १२ गतेको पहिलो रात उनी छिमेकीको घरको कम्पाउन्डमा पाल हालेर बसे ।
ती घरमालिकहरू आध्यात्मिक भएका कारण उनलाई सजिलो पनि भयो । धेरै नचिनेका व्यक्तिसँग उनको त्यो अवधिमा चिनजानसमेत भयो । उनी रातभर रेडियो नेपाल सुनिरहेका थिए । उनले त्यो रात सबैलाई जतिसक्दो डर घटाउने र उत्साह बढाउने समाचार र ज्ञान सेयर गरिरहे ।
आफँ रगतसम्बन्धी जटिल बिरामी भएको, आर्थिक दूरावस्था र घरको टेन्सनले उनले अझ चाहे जति काम गर्न सकेनन् । भुइँचालो जाँदाखेरी पारससँग जम्मा दुई/तीन सय रुपैयाँ मात्र थियो । कोठामा आवश्यक सामग्री थिएनन् । बिरामी र अशक्त भए पनि सबै कुराको चाँजोपाँजो मिलाउनुपर्ने दायित्व उनकै थियो ।
उनका लागि नियमित डाइट, औषधि र रगत अनि विश्राम अनिवार्य थियो । त्योबिना उनको शरीर हिँड्डुल गर्न र बोल्नसमेत अयोग्य हुन्थ्यो । निरन्तर उपचार र यथोचित व्यवस्थापन नै पारसका लागि बाँच्ने आधार थियो । यस्तो प्रतिकुल अवस्थामा पनि जीवन र मृत्युसँग दर्जनौँचोटी पौंठेजोरी खेलेका उनी विचलित थिएनन् ।
किनकि उनी संर्घषबाट सतिशाल भएका थिए । उनले एकसोर बाँच्न मात्रै जीवनमा बयानै गर्न नसकिने खालको संर्घष गरेका छन् । उनी खरानी भएर ब्युँतेका छन् । आफू जतिसुकै बिरामी भए पनि उनी आफ्नो उपचार आफैँ गरी अरूलाई समेत सहयोग गर्न हमेसा तत्पर हुन्छन् ।
यसरी बाँचेको जीवन आफूजस्तै रोगीका लागि समर्पित गरेका छन्, उनले । थालासिमियाका रोगीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हरदिन सोचिरहेका भेटिन्छन् उनी । भूकम्पका दिन १२ गते उनले वरपरका समाजमा भरेका उत्साह र उत्प्रेरणाका कारण सबै मानिस प्रभावित थिए ।
त्यसैले त उनी कहीँ जाँदा होस् वा आउँदा, उनीमाथि विशेष चासो हुन्थ्यो सबैको । मानिसलाई थोरै भए पनि त्रास र डरबाट मुक्त गर्न सकिएकोमा पारस खुसी छन् ।
भोलिपल्ट वैशाख १३ गतेबाट पारस आफ्नै घरमा बस्न थाले । कतिले सोध्थे, ‘तपाईंलाई डर लाग्दैन ?’ तर, पारस कैयौँपटक मृत्युको मुखमै पुगेर बाँचेका कारण मर्नदेखि डराउँदैनन् । भन्छन्, ‘मर्न डराउने मानिस मानिसै होइन ।’ उनी शारीरिक रूपमा अशक्त भएका कारण आवश्यक विश्राम उनका लागि अनिवार्य छ । बाहिर अनेक ज्योतिषका भूकम्प आउने हल्ला थिए । तर, पारसलाई विश्वास थिएन । बरु उनी रेडियोमा अनेक भूगर्भविद्का कुरा सुनिरहन्थे । साथै आफ्नो काममा अपडेट रहन्थे ।
भूकम्पभर सबैलाई मनोपरामर्श दिन व्यस्त उनी मिडियामार्फत त्यही काम गर्न सकेको भए एकैचोटी धेरैलाई राहत हुन्थ्यो भन्छन् । यसपाली मानिसलाई थोरै भए पनि डर कम गराउन पाएकोमा पारस उत्साहित छन् । भूकम्पकै दिनहरूमा उनको एबी पोजेटिभ रगत नपाएको हुनाले उनको होमोग्लोबिन ६ भन्दा तल झर्‍यो ।
ज्वरो आइरहेको थियो, उनलाई । कोठामा एक्लै बस्ने उनीसित कसैको साहरा थिएन । उनी एक्लै भए पनि त्यतिखेर पाकिस्तानका गायकसँग भएका कुरा र त्यतिखेरै राजेश हमालसँग भएका कुरा अलिकति भए पनि समस्या बिर्सन सम्झँदै थिए । भूकम्पका बेला सबैले सरकारलाई सरापिरहेको उनलाई मन परेको थिएन ।
वैशाख २९ को भूकम्पमा पनि उनी कोठामै थिए । गमलामा पानी हाल्दै थिए । अचानक पहिलेकै जसरी भूकम्प आयो । उनी त्यतिखेर सबै छोडेर छिमेकी कोठाको सानो बच्चाको आमालाई रेस्क्यु गर्न पुगे । उनको श्रीमान् पनि त्यतिबेला सँगै थिएनन् । ती महिलाको सात दिनको बच्चा भएकाले रोइरहेकी अनि अत्तालिइरहेकी उनलाई तल ओराल्न सहयोग गरे ।
नेपाललाई देश विदेशमा बस्ने धेरैले सहयोग गरे । पैसा अभावमा आफूले सहयोग गर्न नसकेकाले पारस खिन्न भए । आफ्ना विदेशी साथीसँग मिलेर उठाउन पनि गाह्रो थियो । पारस भन्छन्, ‘नेपालमा डोनेशस उठाएर आफ्नो काममा उपयोग गर्ने धेरै छन् । त्यसले नेपाल र नेपालीप्रतिको विश्वास गिरेकोे छ ।’
तैपनि बाहिर उनी एक ठाउँमा कुरा गर्दै थिए । नभन्दै सो कम्पनीले आधा मिलियन डलर अन्तर्राष्ट्रिय रेडक्रसमार्फत नेपाललाई सहयोग गर्नका लागि रकम दिएको पारसलाई जानकारी गरायोे । उनले भने, ‘व्यक्तिगत रूपमा पाँच दिनको रगतबराबर प्रधानमन्त्रीको खातामा रकम हालिदिएँ ।’ तर भन्छन्, ‘१० हजार पनि सहयोग गर्न सकिएन ।’
पारसले थालासिमियाका बिरामीलाई धेरै सहयोग गर्दै आएका छन् । गएको ६ महिनामा उनले विदेशबाट ल्याएको १ नम्बर मेडिसिन थालासिमियाका बिरामीलाई व्यक्तिगत तवरमै बाँडेका छन् । अहिलेसम्म पाँच लाख रुपैयाँभन्दा बढीको औषधि बाँडिसकेको उनी बताउँछन् । अझै पनि जटिल खालका बिरामीलाई औषधि बाँड्ने उनको योजना छ । भन्छन्, ‘नेपालमा बसेर स्वीट्जरल्यान्डको औषधि खान पाउनु गौरवको कुरा हो ।’
यसरी सकेसम्म धेरैभन्दा धेरैलाई सहयोग गर्ने उनका चाहना छ । तर, सबै कुरा आफ्नो हातमा नभएको उनी बताउँछन् । यद्यपि उनको कामबापत् उनलाई कसैको सहयोग छैन । अहिले सबैभन्दा ठूलो चुनौती मनोपरामर्श (काउन्सिलिङ) गर्ने प्लेटफर्म नभएको उनको ठहर छ । आफू पीडित पनि र थालासिमिया रोगको जानकार पनि भएकाले सरकारको सहयोग पाए धेरै गर्न सकिने उनी बताउँछन् ।
आफू चुनौती र संकटको घडीमा सबैलाई सान्त्वना दिन र उत्साह भर्न जन्मिएको मान्छे जस्तो लाग्छ उनलाई । भुइँचालो आउनु प्राकृतिक प्रक्रिया भएको उनी ठान्छन् । यसलाई स्वीकार्नुबाहेक मानिससँग अरू उपाए नभएको उनी ठान्छन् । पृथ्वीलाई सन्तुलन कायम गर्न भुइँचालो गइरहन्छ ।
सजीव जीवजन्तु र वातावणलाई प्रभावित पार्ने पृथ्वीमा लाग्ने रोग ठान्छन् भुइँचालोलाई उनी । भुइँचालो आफैँले मानिस नमार्ने तर मानिसले बनाएका अव्यवस्थित भौतिक संरचनाले मानिस मार्ने उनी बताउँछन् । त्यसकारण मानिसले विवेकशील भएर काम गर्नुपर्ने उनको धारणा छ ।
सौर्य दैनिकबाट


0 comments

Write Down Your Responses

Powered by Blogger.