एकपाथी ‘बुद्धचित्त’को भाउ २५ लाख !
काठमाडौं, साउन १९
गत असार १० गते काठमाडौंको ठमेलस्थित कुबेरा महलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले डोल्मा छेतेन तामाङलाई पक्राउ गर्‍यो । उनको साथबाट प्रहरीले बुद्धचित्तको ठूलो माला ८ थान र सानो  २०७ थान माला बरामद गर्‍यो।
काठमाडौंको बौद्धमा होटल व्यवसाय चलाउँदै आएका हुम्लाका तामाङलाई बुद्धचित्तको मालासहित सिआइबीले जिल्ला बन कार्यालय काठमाडौमा बुझायो। तामाङ ४२ रुपैयाँ बुझाएर त्यो मुद्दाबाट मुक्त भए । तामाङबाट प्रहरीले विभिन्न देशका विदेशी मुद्रा पनि भेटिएकाले उनी अहिले प्रहरी हिरासतमा नै छन् ।
काभ्रे जिल्लाको विभिन्न गाउँमा फल्ने बुद्धचित्तको एउटा मालाको बजार मूल्य कम्तिमा पनि १ लाख छ। एक मुठ्ठी बराबर बुद्धचित्तबाट एउटा माला बन्न सक्छ।  एउटा मालामा १ सय ९ वटा दाना हुन्छन् । मालाको आकार र मुख अनुसारको यसको मूल्य तय हुने व्यापारीहरुले बताएका छन्।
ठुलो आकारको बुद्धचित्तको एक पाथीको २५ लाख सम्ममा किनबेच हुने प्रहरीको अनुमान छ। यसरी बुद्धचित्तको भाउ एक्कासी अकाशिएपछि यसको तस्करी बढ्न थालेको प्रहरीको भनाई छ।
विगत ३ वर्षदेखि नेपालमा बुद्धचित्तको व्यापार हुन थालेको हो। काभ्रेका कतिपय गाउँका रुखमा फलेर भूइँमा झर्ने, पहिले कसैले वास्ता नगर्ने बुद्धचित्त पछिल्लो समय चीन, जापान, सिंगापुर, दक्षिण कोरिया लगायतका देशमा धेरै पैसामा निर्यात हुन थालेको छ। यसरी निर्यात बढेपछि एउटै मालाको नेपालमै एक लाख रुपयाँ पर्न थालेको हो। ति मुलुकमा पुगेपछि एउटा माला कतिमा बिक्रि हुन्छ भन्ने यकिन नै छैन ।
केहि समयदेखि काभ्रेको बुद्धचित्तको प्रचारप्रसार भएपछि यसको माग र मूल्य व्हात्तै बढेको हो ।  करिव चार बर्ष अघि बौद्ध धर्मगुरु   दलाई लामाले नेपालमा उत्पादन हुने बोधिचित्त सबैभन्दा राम्रो भनेपछि यसको माग प्रयोग र माग बढन थालेको कतिपय बौद्धभिक्षुहरु बताउँछन् ।
के हो बुद्धचित्त
बुद्धचित्तको वास्तविक नाम बोधिचित्त हो। यो बयर प्रजातिको बनस्पति हो । यसको काठ, पात, दाना, सबै धार्मिक प्रयोजनमा उपयोग हुन्छ। यसको बयर जस्तो देखिने तर कडा फल प्रयोग गरेर बौद्ध धर्मावलम्बीहरुले जप गर्न र लगाउन प्रयोग गर्ने माला बनाउने गरिन्छ।
तिब्बतमा बज्रयान बौद्ध धर्म स्थापित गर्ने गुरु पध्म सम्भवले नेपालको काभ्रे जिल्लामा पर्ने एउटा गुफामा ध्यान गर्न आउँदा बोधीचित्तको बिरुवा छोडेर गएको किम्वदन्ती छ। काभ्रेमा पाइने बुद्धचित्त बिरुवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएको वन मन्त्रालयका सहसचिव तथा वनस्पतिविद् खेमराज भट्टराई र अनुसन्धानकर्ता मित्र पाठक बताउँछन्।
भट्टराई र पाठकले बुद्धचित्त पाइने काभ्रेको तिमाल क्षेत्रमै गएर लामो अध्ययन गरेका छन्। उनीहरूले बुद्धचित्तको बिरुवालाई राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा ल्याई अध्ययन गरेका थिए । यो सामुद्रिक सतहबाट १२०० देखि २००० मिटर उचाइको जमिनको पाखोबारीमा पाइन्छ ।
पाखोबारी, सुख्खा, ससाना ढुंगा भएको स्थानमा समेत यो रोप्प मिल्ने भएकाले यो पहाडी भेगमा लगाउन उचित हुने उनीहरुको भनाई छ । रोपेको तीन या चार वर्षबाटै फल दिन थाल्ने यो विरुवालाई त्यति स्याहार आवश्यक पर्दैन । बुद्धचित्त काभ्रेको तिमाल ठूलोपर्सेल, चापाखोरी, मेच्छे, पोखरीनारायणस्थान, मंगलटार, बोल्देफेदिचे, कानपुर, खार्पाचोकमा पाइन्छ।
मूल्यवान बोधिचित्तको काभ्रेका गाउँबाट काठमान्डौ सम्म ल्याउन हेलिकप्टर समेत प्रयोग हुन थालेको छ। अघिल्लो साता शिखरअम्बोटेबाट १ सय ८१ किलो बोधिचित्त दाना हेलिकप्टर नै चार्टर गरेर काठमाडौं ल्याइएको थियो।  जिल्ला वन कार्यालय काभ्रेको अनुसार जम्मा ३४ किसानसँग मात्रै बुद्धचित्तको बोट छ। उनीहरुको बारीका ३ सय ७६ वटा बोटमा बर्सेनि बुद्धचित्तको फल फल्ने गर्छ । कार्यालयले हालसम्म २८ जना किसानलाई संकलन तथा निकासी इजाजतपत्र दिएको छ।
एक किलोको ५ रुपैयाँ मात्र राजस्व
बुद्धचित्त संकलन गर्न र बेच्नका लागि पुर्जी आवश्यक हुन्छ । जुन जिल्ला वन कार्यालय दिन्छ । संकलन पुर्जी र छुट पुर्जी बिना यसको कारोबार गर्न पाइन्न । एक हजार रुपैयाँमा विरुवा किन्न पाइने, यसपछि बर्षेनी फल टिपेर बेच्न पाइने हुदाँ किसानहरु यसप्रति आर्कषित भएका हुन् । बुद्धचित्तको भाउ अाकासिए पनि, यसको राजश्व भने बढेको छैन। अझैपनि १ किलोको जम्मा ५ रुपैयाँ मात्र राजस्व तिर्नु पर्छ।
बुद्धचित्त व्यापारमा गुन्डाहरु आर्कषित
कम राजस्व तिरेर बढी रकम कमाइने भएपछि अहिले नाम चलेका गुण्डा नाइकेहरु यसको व्यापारमा लागेको सिआइबीले जनाएको छ। यसका साथै केन्द्रीय स्तरको नेताहरु पनि यसप्रति आर्कषित भएको प्रहरीले स्रोतले जनायो । बुद्धचित्तको एउटा रुख नै २५ लाखदेखि ४० सम्म सम्म उनीहरुले किन्ने गरेका छन्। गणेश लामा लगायतका केही गुन्डा नाइकेको समूहको बुद्धचित्त व्यापारमा हालीमुहाली रहेको स्रोतले जानकारी दियो । सिआइबीले कम लागतमा धेरै लाभ उठाउन सक्ने भएकाले यसमा अपराधिक गतिबिधि हुनसक्छ भनेर अनुसन्धान गरिरहेको डिएसपी सविन प्रधानले सेतोपाटीलाई जानकारी दिए। केही समूहले ब्यापार नियन्त्रण गर्न सक्ने भन्दै आफूहरु सचेत रहेको उनले बताए ।
नयाँ नीतिको खाँचो
पछिल्लो समय बनस्पतिको अन्य समूहमा रहेको बुद्धचित्तलाई यार्सागुम्बाजस्तै बनस्पतिमा समावेश गर्नुपर्ने खाँचो देखिएको विज्ञहरुले बताएका छन् । राजस्व कम र निर्यात गर्दा पाइने रकम आकाश जमिनको अन्तर भएकाले यसबाट किसानहरु लाभान्वित भएका छन् ।
बुद्धचित्तलाई कसरी वनस्पतिमा समावेश गर्ने र त्यसलाई व्यावसायिक रुपमा लैजाने भन्ने विषयमा सरकारको कुनै नीति नै छैन। व्यापार हुन थालेको डेढ वर्ष वितिसक्दा समेत सरकारको ध्यान अझै त्यहाँ पुगेको देखिदैन्। सरकारले अलिक ध्यान दिएर यसबारे नियमन गरे राजस्व बढी उठाउन सकिने विज्ञहरुको तर्क छ।
सेतोपाटीडटकमबाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments

Write Down Your Responses

Powered by Blogger.